ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोर चाँडो सम्पन्न हुन्छ : मन्त्री भट्टराई

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको आर्थिक समृद्धिसँग जोडिएका उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडो सम्पन्न हुने जानकारी दिनुभयो ।फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यी दुई आयोजना जिल्लाको मात्रै नभई मुलुक कै समृद्धि र विकाससँग जोडिएका हुँदा छिटो भन्दा छिटो सम्पन्न गर्न सरकारले उच्च प्राथमिता दिएको बताउनुभयो ।प्रतिनिधिसभा निर्वाचनमा तमोर करिडोर, ओलाङचुङगोला लोकमार्गको निर्माण र सुकेटार विमानस्थलको स्तरोन्नति लगायतका विकासका पूर्वाधार उच्च प्राथमिकतामा परेका थिए ।

मन्त्री भट्टराईल तीनै तहका सरकारले संविधानको मर्म र भावना अनुरुप प्रभावकारी काम गर्न सके मात्र समृद्ध नेपाल निर्माणको अभियानले गति लिने जनाउँलै सोही अनुरुप काम गर्न सबै जनप्रतिनिधिलाई आग्रह पनि गर्नुभयो ।जिल्लाको सबैभन्दा विकट मानिने फक्ताङलुङ चीनको सीमा जोडिएको गाउँपालिका हो । यो गाउँपालिकामा पर्ने साविकको ओलाङचुङगोला गाविस चीनसंग जोडिएको छ ।ओलाङचुङगोला स्थित टिपताला नाका हुँदै चीनको तिब्बत जोड्ने उत्तर दक्षिण लोकमार्ग आयोजना निर्माणाधीन छ । यो सडक आयोजना जोडिन करिब ८ किलोमिटर बाँकी रहेको ओलाङचुङगोला –७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो ।

व्यापारिक दृष्टिकोणले यो सडक आयोजना महत्वपूर्ण रहेको उनको भनाइ छ ।गृह जिल्लाका जनताको गुनासो सुन्न , विभिन्न आयोजनाको अनुगमन तथा अवलोकन गर्न तथा जनप्रतिनिधिहरुसँग छलफल गर्न शुक्रबार यहाँ आउनुभएका मन्त्री भट्टराईले आज नै फक्ताङलुङ गाउँपालिका ३ मा पर्ने सिँवा माध्यामिक विद्यालयमा स्थापित सूचना प्रविधि प्रयोगशालाको शुभारम्भ गर्नुभएको थियो ।आजै उनले तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत आयोजनाको समेत अवलोकन गर्नुभएको थियो । रासस