अमेरिकी चुनावमा २ नेपाली अमेरिकनमध्ये ढकाल ४८३९ मतले विजयी, गुरुङले ल्याइन् २९८५ मत

काठमाडौं, यसपटकको अमेरिकी चुनावमा नेपाली अमेरिकनहरु मतदानमा मात्र सकृयताका साथ सहभागी भएनन्, कतिपय स्थानमा उम्मेदबारी समेत दिए । भर्जिनिया राज्यको हर्डन टाउनको काउन्सिलमा सम्पन्न निर्वाचनमा दोश्रो कार्यकालको लागि टाउन काउन्सिल मेम्बरमा प्रदीप ढकाल निर्वाचित भएका छन् । ढकालले ४८३९ मत ल्याएका छन् । उनलाई ३४८४ जनाले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका थिए । नोभेम्बर ६ सम्म आएका मतपत्रहरु गणना गरिने र नोभेम्बर १६ मा चुनावको प्रमाणिकरण गरिने निर्वाचन विभागले जनाएको छ ।

दोश्रो कार्यकालको लागि निर्वाचित भएकोमा ढकाललाई मेरिल्याण्ड जनरल एसेम्वलीका हाउस अफ डेलिगेट ह्यारी भण्डारीले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भण्डारी अहिलेसम्मको अमेरिकामा उच्च पदमा निर्वाचित नेपाली अमेरिकन जनप्रतिनिधि हुन् ।त्यस्तै न्यूह्याम्सार हाउस अफ रिप्रिजेन्टेटिभ मेरिम्याक २५ मा नेपाली अमेरिकन मदलशा गुरुङले डेमोक्रयाट पार्टीको तर्फवाट उम्मेदबारी दिएकी थिइन् । रिपब्लिकनको पकड रहेको क्षेत्रमा उनको उम्मेदबारी परेको थियो । उनी निर्वाचित भने हुन सकिनन् ।गुरुङले २९८५ मत ल्याएकी थिइन् ।

यो मत कुल मत संख्याको ११ दशमलव १ प्रतिशत हो । विजयी हुनेले कुल मतदानको १६ दशमलव १ प्रतिशत अर्थात् ४३३१ मत ल्याएका छन् ।न्यूह्याम्सार हाउस अफ रिप्रिजेन्टेटिभको चुनावमा गुरुङको सहभागीता र प्रयासले नेपाली अमेरिकनको राजनीतिक सहभागितामा एउटा आयाम थपेको र यसले भावी पिढीको लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न सक्नेमा आफू विश्वस्त रहेको ह्यारी भण्डारीले बताए । आगामी दिनमा नेपाली अमेरिकनहरुको राजनीतिक रुपमा सहभागीताको लागि हातेमालो गर्न आफू व्यक्तिगत रुपमा, आफ्नो समूह र नेपाली अमेरिकन सदैव तत्पर रहने भण्डारीको भनाई छ ।