अब दैनिक ३ सय जनामात्र जान पाइने

काठमाडौं, पछिल्लो समय टिकटकदेखि अन्य सामाजिक संजालहरूमा भाइरल भएको मानहुँकोटमा अब दैनिक ३ सय जनामात्र जान पाउने भएका छन्। तनहुँको व्यास नगरपालिका-५ मा पर्ने मानुहुँकोटमा कोरोना महामारीकाबीच पनि दैनिक हजारौं मानिसहरूको भिड लागेपछि दैनिक ३ सय मानिसलाई मात्र प्रवेश गर्न दिइने नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। ‘आज मात्र हामी मानहुँकोटमै बैठक बस्यौं। अब ठ्याक्कै बन्द गर्ने स्थिति त छैन तर अब ३ सय व्यक्तिलाई मात्र प्रवेश गर्न दिने तयारी गर्दैछौं,’ उनले भने।

मयेर न्यौपानले नगर प्रहरी परिचालन गरेर सोमबार दिउँसोबाटै यो नियम लागू गरिने बताए। उनले त्यसरी प्रवेश गर्न दिइएका व्यक्तिहरूको दर्ता पनि गरिने जनाए। उनले भने, ‘माथि जाने एउटै बाटो छ। त्यसैले तलै नगर प्रहरी परिचालन गरी दर्ता गरेर मात्र मानिसहरूलाई माथि पठाउँछौं।’ अब मानहुँकोट जाने व्यक्तिहरूको नाम, ठेगना र सम्पर्क नम्बर राखिनेछ। साथै मानिसहरूलाई अनिवार्य मास्कको प्रयोग गर्न र संक्रमणलाई मध्यनजर गर्दै सचेत रहन आग्रह गरिने पनि मेयर न्यौपानले जनाए। उनले मानहुँकोट भ्रमण गर्न आउने मानिसहरूलाई पनि उक्त जानकारी लिएर मात्र आउन आग्रह गरेका छन्।

दैनिक हजारौं मानिसहरूको भिड लाग्दा त्यसबाट जुनसुकै बेला पनि दुर्घटना निम्तिनसक्ने उनी बताउँछन्। मयेर न्यौपानेले नगरपालिकाले घुम्न आउन अहिले आव्हान नगरेपनि युवापुस्ताका कारण सामाजिक सञ्जालबाटै भाइरल भएर ठूलो संख्यामा मानिसहरू आउन थालेको बताए। ‘हामीले आउन पनि भनेका हैनौं। तर सामाजिक सञ्जालमा भाइरल भयो। झापादेखि चितवन, पोखरा सबै ठाउँबाट मानिसहरू आउनुहुन्छ,’ उनले भने। अहिले दैनिक १० हजार जना सम्म मानिसहरू मानहुँकोट पुग्ने गरेका छन्। यहाँबाट देखिने सुर्यदय र दमौली बजारलाई सेताम्मे कुहिरोले ढाकेको मनमोहक दृश्य घुम्न आउने मानिसहरूको खास आकर्षण बनेको छ।

यहीँ दृश्य हेर्न अहिले मानहुँकोटमा आन्तरिक पर्यटकको ठूलो घुइँचो लाग्ने गरेको छ। अत्याधिक मानिसहरू पुग्न थालेपछि डाँडा उक्लिने बाटोमै ठूलो सवारी जाम हुन थालेको छ। अब भने उक्त जामलाई पनि व्यवस्थित गरिने मयेर न्यौपानेले बताए। ‘अब अव्यवस्थित भइरहेको सवारी जामलाई पनि व्यवस्थापन गरिन्छ। त्यसका लागि थोरै शुल्क लाग्नसक्छ,’ उनले भने।