पर्सामा गुञ्जियो ‘राजा आउँ देश बचाउँ’को नारा

पर्सा : पर्सामा दुईदिन यता ‘राजा आउँ देश बचाउँ’को नारा गुञ्जिन थालेको छ । देशमा बढ्दै गईरहेको भ्रष्टाचार, अराजगता ,राजनीतिक अस्थिरता नियन्त्रण गर्न पुनः राजसंस्था स्थापना गर्नुपर्ने माग गर्दै पर्साको वीरगञ्जमा दुई दिनदेखि निरन्तर ‘राजा आउँ देश बचाउँ’को नारा लाग्न थालेको हो ।शनिबार वीर गोर्खाली एटीएफ नामक संस्थाले वीरगञ्जमा वृहत मोटरसाईक ¥याली प्रदर्शन गरेका थिए भने आइतबार नेपाल राष्ट्रवाद संघको अगुवाईमा विभिन्न राष्ट्रवादी संगठनहरुले ‘राजा आउँ देश बचाउँ’को नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

राजावादी समूहहरुले राजासहितको हिन्दू अधिराज्य स्थापना गर्नुपर्ने, अखण्ड नेपाल हुनुपर्ने, संघीय गणतन्त्र खारेज गर्नुपर्ने, लोकतन्त्र मुर्दाबाद, देश लुट्न पाइदैन, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, लगायत नारा लगाउँदै वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।वीरगञ्जको बसर्पाक र घण्टाघर चोकबाट छुट्टाछुट्टै निकालिएको विरोध जुलुस वीरगञ्ज महानगरपालिकाको पावरहाउस, घण्टाघर, माईस्थान, आर्दशनगर, छपकैया हुँदै पुनः घण्टाघर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै संस्थाका सल्लाहकार विरेन्द्र थापाले मुलुकमा पुनः राजासहितको हिन्दु अखण्ड राष्ट्र निर्माण गर्नुपर्ने मुख्य उद्देश्य राखेर देशव्यापी नै ‘राजा आउँ देश बचाउँ’को अभियान चलाएको बताए ।

उनले देशको भविष्य निर्माण गर्ने नै असल नेता हुन्छ, तर दुर्भाग्य हाम्रो देशमा नेताभन्दा बढी विदेशी कटपुलती बनेर बसेको बताए ।राजनीतिक दलका नेताहरुले मुलुकलाई नै सिध्याउँन र विखण्ड पार्न एक साथ मिलेर बसेका नेपाली जनतालाई जातपात, पार्टी पार्टीमा विभाजन गरी आफू देशलाई विखण्ड गर्ने तर्फ लागेर आफूहरु मालामान बनाउँने तर्फ लागि परेको उनले आरोप लगाए ।रोजगार दिने भन्ने नेताहरु कहाँ छन, देशमा रोजगार त परोस् जाओस्, यहाँ रहेका चिनिमिल, कृषी औजार कारखाना, कृषि उद्योग, साझा बस, भृकुटी कागज कारखाना, लगायतका ठूलाठूला उद्योगहरु सञ्चालन गरेर देखाउँन नेताहरुलाई उनले चुनौती समेत दिए ।

कोण सभामा वीर गोर्खालीका संयोजक सन्तोष राजावादी, नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनक साह, राजावादी अभियान्ता संयोग श्रेष्ठ, विजय श्रेष्ठ, हिरा बहादुर चन्द, समाजसेवी पशुपति विक्रम शाह, अनु राणा, लगायतले सम्बोधन गर्दै देशमा लोकतन्त्र गणतन्त्र नभई लुटतन्त्र आएको कारण जनताले दुःख पीडा भोग्नु परेकोले यसको विकल्पमा राजा सहित हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने जोडदार आवाज उठाए ।