वीरगञ्ज नाकाबाट १० अर्ब ११ करोड बढीको तेल भारत निर्यात

वीरगञ्ज ।मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भएर चालु आर्थिक वर्षको ३ महिनामा १० अर्ब ११ करोड भन्दा बढीको प्रशोधित पाम आयल तथा भटमासको तेल भारततर्फ निर्यात भएको छ ।वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७–७८ को ३ महिनाको अवधिमा बारा–पर्सा औद्योगिक करिडोरका १४ ओटा तेल उद्योगले ७२ हजार ८ सय ६२ मेट्रिक टन भटमासको तेल तथा पाम आयल भारततर्फ निर्यात गरेका छन् ।गत आर्थिक वर्ष २०७६–७७ को सो अवधिमा भने १४ हजार ९ सय २४ मेट्रिक टन प्रशोधित भटमासको तेल वीरगञ्ज नाका भएर निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कुल १० अर्ब ११ करोड ८ लाख ९३ हजारको भटमासको प्रशोधित तेल वीरगञ्ज भन्सार नाका भएर निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिए।चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वीरगञ्ज नाकाबाट नेपालबाट निर्यात हुने मुख्य बस्तुहरुमा भटमासको प्रशोधित तेल पहिलो स्थानमा परेको वीरगञ्ज भन्सारले जनाएको छ ।वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको तीन महिनामा मुख्यत भटमासको प्रसोधित तेलसँगै, जुस जाम, च्यवनप्राश, जमोठ कपडा, दन्त मन्जन, उनी गलैचा, सेन्थेटिक यार्न, अन्य रेसाको कपडा, स्पार्ट सुज पिना लगायतका वस्तुहरु भारततर्फ निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख खत्रीले बताए ।