प्रधानमन्त्रीलाई कोरोना ?

काठमाडौं । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्याण्डलबाट आएको एक ट्विटले सबैलाइै अचम्भित बनायो । ट्विटरमा प्रधानमन्त्रीले लेख्नुभएको थियो ‘नयाँ व्यवसायिक यात्रामा अघि बढ्नका लागि मातृका पौडेलजीलाई अग्रिम शुभकामना ।हामी दुवैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुसी हुने योजना सुनाउँनु हुँदा दुवै जना दंग..।’ प्रधानमन्त्रीले आफूले कोरोना जितेको भनेर ट्विट गरेपछि अनौठो हुने नै भयो किनभने प्रधानमन्त्रीलाई कोरोना लागेको खबर बाहिर आएको थिएन ।

तर प्रधानमन्त्रीले गरेको ट्विटमा सेयर गरेको फोटोले अन्योलतालाई चिर्ने काम गरेको छ । त्यहाँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मात्रिका पौडेलको फोटो सेयर गरिएको थियो ।एकैछिनमा त्यो ट्विट हटाइयो र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको व्यक्तिगत ह्याण्डलबाट सोही भनाइ र सोही फोटो सहितको ट्विट पोस्ट भयो । यसले स्पष्ट पार्यो की प्रेस सल्लाहकार थापा झुक्किनु भएको रहेछ ।आफ्नो ट्विटरमा पोस्ट गरेँ भन्दा प्रधानमन्त्रीकोमा परेछ । ट्विटरमा प्रधानमन्त्रीको ह्याण्डलमा थापाले गरेको ट्विट सेयर गर्दै थापाको आलोचना भइरहेको छ ।