नेगेटिभ पीसिआर रिर्पोटलाई पोजेटिभ बनाउने अस्पतालका कर्मचारी पक्राउ

नेपालगञ्ज । कोरोनाको नेगेटिभ पीसिआर रिर्पोटलाई पोजेटिभ बनाउँदै आएको आरोपमा भेरी अस्पतालबाट तीन जना कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो २ बजेतिर अस्पतालमा छापा मारेर नेगेटिभ पीसिआर रिर्पोटलाई पोजेटिभ बनाउन संलग्न रहेको आशंकामा अस्पतालमा कार्यरत तीन जना कार्यालय सहयोगी सुरक्षा गार्ड कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुरक्षा गार्ड विवेक अधिकारी, बद्री खनाल र बासुदेव जोशी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पीसीआर परीक्षणका लागि गरिने सिफारिस पत्रमा किर्ते गरेको पाईएपछि उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका कर्मचारी र संलग्नहरुको बारेमा अनुसन्धान सुरु गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताउनुभयो ।बीमा भुक्तानीका लागि नगेटिभ रिपोर्टलाई कर्मचारीको मिलेमतोमा पोजेटिभ बनाउने गरिएको आशंका गरिएको छ ।