के यो वर्ष साच्चै भाईटीका लगाउन नहुने हो ?

काठमडौं । यो बर्ष मंसिरमा भाइटीका परेको छ । र, यो वर्षको भाइटीका लगाउनु हुन्न भन्ने हल्लाहरु पनि फैल्याइएको छ । बिगतका बर्षहरुका तिहारहरु हेर्दा मंसिरमा भाइटीका लगाइएका बिरलै पाइएका छन् । त्यस्तैगरी मंसिर महिना बिवाह लगनको महिना भनेर आम नागरिकको बुझाईका कारण पनि यो बर्षको भाइटीका लगाउन नमिल्ने भनेर हल्ला चलेको हो ।खासमा यो वर्ष गत आश्विन महिनामा अधिकमास (मलमास)परेकाले चाडपर्व पछि सरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

मङ्सिरको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने कुनै शास्त्रीय आधार नरहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताएका छन् ।समितीले मङ्सिर १५ गतेसम्म चान्द्रमास रहेकाले कार्तिक शुक्ल पक्ष नै मानिने भएकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरेकाे छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बीले चान्द्रमास अनुसार नै चाडपर्व मनाउने गरिन्छ । मङ्सिर १५ गतेसम्म कार्तिक शुक्ल पक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको पनि उनले जानकारी दिएका छन् ।मंसिरमा भाईटीका लगाउनु हुन्न भने हल्ला चलिरहेको छ ।

भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट कुल परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर एकापसमा गच्छेअनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर आपसी सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसै अनुरुप मनाउन पञ्चाङ्ग निर्णायक समितीले आग्रह गरेको छ ।