प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूतले दिईन यस्तो सुझाव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएको छ । विवाद समाधानको लागि आजपनि सचिवालयको बैठक बसेको थियो । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दश दिनको समय मागेपछि आजको बैठक सम्पन्न भएको थियो । गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्रको विवाद झनै वारपारको अवस्थामा पुगेको छ ।यो बीचमा अध्यक्षद्धय ओली र दाहालसँग राष्टपति विद्यादेवी भण्डारीले बेग्लाबेग्लै भेटवार्ता गरिन् ।

नेकपा विवाद समाधानको लागि राष्टपति सक्रिय भएको भनेर सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । त्यतिमात्रै होईन, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी समेत नेकपा विवाद झनै चुलिएपछि सक्रिय भएको समाचार आए । उनले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा हिजो राति करिब दुई घण्टा लामो भेटवार्ता गरिन् ।उच्च स्रोतले जनाएअनुसार उक्त भेटमा राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्दा नै ओलीको लागि हितकर हुने सुझाव दिएकी थिईन् । यसअघि गत बैशाखमा नेकपाभित्र दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले ओलीको दुवै पदबाट राजीनामा माग्दा राजदूत यान्छी सक्रिय भएकी थिईन् ।

उनले नेकपाका प्रायः सबै शीर्ष नेताहरुलाई घरघरमै पुगेर भेटेकी थिईन् । उनले पार्टी एकता सुदृढ गर्दै अघि बढ्दा नै राम्रो हुने सुझाव दिएकी थिईन् । यसपटक भने राजदूत यान्छीले ओलीलाई दुई मध्ये एक पद छोड्दा राम्रो हुने सुझाव दिएको स्रोतको दाबी छ ।