छैन छठको रौनक

पर्सा । विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठ पर्व आजदेखि विधिवत् शुरु भएको छ । तराईको साझा साँस्कृतिको पहिचानको रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चर्तुथीदेखि शुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ । तर कोरोना महामारीले गर्दा यस वर्षको छठ पूजा भव्य रुपमा मनाउन प्रशासनले रोक लगाएको छ । यसले छठपर्वको तयारी पनि प्रभावित भएको छ ।छठपर्व शुरु भइसकेको छ । तर कोरोना संक्रमण फैलन सक्ने भन्दै काठमाडौं उपत्यकामा मात्र हैन, तराइ मधेशका जिल्लामा पनि स्थानीय प्रशासनले नदी, ताल तलाउ, पोखरीमा छठ मनाउन प्रतिवन्ध लगाएको छ ।

वीरगन्जको मुटु मानिने घडिअर्वा पोखरीमा भव्य रुपमा छठ पर्व मनाउने गरिन्थ्यो । घडिअर्वा पोखरीको छठ पूजा हेर्न देश विदेशबाट भक्तजन आउने गर्थे । तर यो वर्ष कोरोना महामारीका कारण छठ पूर्ण रुपमा प्रभावित हुने देखिएको छ ।छठ घाटमा हुने भिडलाई नियन्त्रण गर्न सजावट, पन्डाल, साउण्ड, साँस्कृतिक कार्यक्रममा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमण फैलन नदिन छठ घाटका व्यवस्थापन समिति, राजनीतिक दल, सुरक्षाकर्मीको समन्वयमा थप व्यवस्थापन गर्दै भिडभाड हुन नदिनको लागि विभिन्न सुरक्षाका उपायहरु अपनाइएको प्रष्टिकरण दिएको छ ।

घडिअर्वा पोखरीमा मात्र नभई वीरगन्ज महानगरपालिकाको २६ स्थानमा छठ पुजा गर्न व्यवस्थापन गरिएको छ । तर सबभन्दा भिडभाड हुने घडिअर्वा पोखरी, वीरगन्जको नगवा, रानीघाट र मुर्ली पोखरी हो । यी चार छठ घाटमा छठ व्रत लिएका ब्रतालु बाहेक अन्यलाई निषेध गर्ने निति अपनाईएको छ ।स्थानीय प्रशासनले रोक लगाएकाले छठ प्रभावित हुने भन्दै ब्रतालु महिलाहरु अन्योलमा छन् ।छठका दिन ब्रत बस्नेले प्रसादका रुपमा ठेकुवा, भुसवा, कसार लगायतका मिष्ठान्नहरु तयार पारी नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ दिइन्छ ।

अस्ताउँदो सुर्यलाई अर्घ दिन साँझ र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा श्रद्धालु भक्तजनको भिड लाग्ने गरेको छ । सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख , समृद्धि हुने धार्मिक विश्वास रहिआएको छ ।