४ मंसिर २०७७, बिहीबार काठमाडौं । नेपाल बजारमा सुन भाउ लगातार ओरोलो लागेको छ। कोरोना भाइरस विरुद्धको केही खोपहरूमा आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको हो। खोपहरुमा आशा पलाउनुका साथै विश्वका अर्थ व्यवस्था खुला हुन थालेपछि लगानीकर्ताले सुरक्षित मानिने सुनमा लगानी घटाएर अन्य क्षेत्रमा लगानी बढाउन थालेसँगै सुनको भाउ घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजार पछ्याउँदै स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ ।

एकै दिन सुन तोलामा ७ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ४ सय तोकेको छ । हिजो बुधबार तोलाको ९५ हजार एक सय रुपैयाँ थियो ।यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ७ सयले नै घटेर ९३ हजार ९ सय कायम भएको छ । हिजो बुधबार तेजाबी सुनको भाउ तोलाको ९४ हजार ६ सय थियो ।चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय १५ कायम भएको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँ थियो ।