आशा जगाउने एसियन हाइवे

काठमाडौं, एएसियाली राष्ट्रबीच सडक सञ्जाल विस्तार गर्ने सहमति अनुरूप ‘एसियन हाइवे’ मा नेपाल पनि जोडिएको छ। भारतले पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म उक्त हाइवे विस्तारको काम सम्पन्न गरेको हो। ‘एसियन हाइवे’ सडक सञ्जालमा जोडिएसँगै नेपालको ग्रामीण स्तरको व्यवसायले पनि अन्तर्राष्ट्रिय बजारको सम्भावना बोक्ने आशा व्यवसायीको छ। झापा उद्योग वाणिज्य संघका अध्यक्ष तथा उद्यमी टीकाराज ढकाल भन्छन्, ‘एसियन हाइवेका कारण गाउँले किसानले उत्पादन गरेको कृषि उपज सहजै अन्तर्राष्ट्रिय बजारमा पुग्नेछ।’

उक्त हाइवे पूर्वदेखि पश्चिम नेपालसम्म जोडिँदा देशका हरेक क्षेत्रमा फाइदा हुने ढकालले बताए। एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा नेपालको पूर्वीद्वारस्थित मेची नदीमा चार लेनको ‘मितेरी पुल’ समेत बनेको छ। मेची नदीमा चार लेनको पुल निर्माणसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्मा बताउँछन्। ‘सडक सञ्जाल फराकिलो हुँदा सीमावर्ती नाका चलायमान हुन्छन्।’ मेची उद्योग वाणिज्य सघंका अध्यक्ष ऋषि तिम्सिना भन्छन्, ‘एसियन हाइवेको पहुँचले व्यापार प्रवद्र्धनका साथै बजारीकरण र आयात, निर्यातमा सहजता थपिन्छ।’

करिब डेढ अर्ब भारतीय रुपैयाँ ऋण सहयोगमा भारतले ६ लेन सडकसहित नेपाल–भारत सीमास्थित मेची नदीमा ७ सय ९० मिटर लामो पुल बनाएको हो। ‘जीर्ण र साँघुरो मेची पुलले धेरै असजिलो थियो। ठूला कन्टेनर आवतजावतमा कठिनाइ हुन्थ्यो।’, मेची भन्सार कार्यालय काँकडभिट्टाका भन्सार प्रमुख धु्रवराज विश्वकर्माले भने, ‘नयाँ पुल बनेपछि बाटो रहरलाग्दो भएको छ। अब साइकलदेखि ठूला कन्टेनर सीमा नाकामा घण्टौंसम्म रोकिनु पर्दैन।’ भारतले कलकत्ता पछि सिलिगुडी नजिकै न्यु जलवायुगुडीमा नेपाल बंगलादेश र भुटानसँगको व्यापारिक सम्बन्ध सहजताका लागि बन्दरगाह बनाएको उनले बताए।

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मेची नदीमा पुल निर्माण गर्ने सम्झौता भएको थियो। २०७४ फागुनबाट औपचारिक रूपमा पुल निर्माणको काम सुरु भएको थियो। नेपाल भारत सीमाको मेची नदीमा चार लेनको पुलसँगै काँकडभिट्टा बसपार्कसम्म चार लेनको फराकिलो सडक निर्माण भएको छ। जसलाई ‘एसियन हाइवे’ को एप्रोच रोड भनिएको छ। उक्त सडकमा ढलसँगै विद्युतीय पोल राख्ने काम सम्पन्न भएसँगै साँझमा झन् आकर्षक र झलमल्ल देखिन्छ, काँकडभिट्टा। भारतले सीमावर्ती पश्चिम बंगालमा दुई वर्षअघि मात्रै एसियन हाइवे निर्माण गरेको थियो।

उक्त सडक बनेसँगै काँकडभिट्टाबाट २८ किलोमिटर दूरीमा पर्ने सिलगुडी सहजरूपमा आवतजावत गर्न सकिने भएको छ। नेपालका पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्छन्। पूर्व–पश्चिम राजमार्गलाई पनि चार लेनमा विस्तार गर्ने काम सुरु भइसकेको छ। एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बंगलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ। काँकडभिट्टा पानीट्यांकी सडकमा साँघुरो पुलका कारण आवागमनमा असहज हुने गरेको सम्झिँदै स्थानीय पर्यटन व्यावसायी नेत्र कार्कीले भने, ‘एसियन हाइवे विस्तारले देशको पर्यटन क्षेत्रमा सहयोग पुग्नेछ।’

व्यापार विस्तार र प्रवद्र्धनका हिसाबले ‘एसियन हाइवे’ नेपालका लागि एउटा अवसर हुने झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा उद्यमी विजय डालीमियाँ बताउँछन्। ‘भारतसँगको व्यापार सहजीकरणमा एसियन हाइवेले ठूलो महत्व राख्छ।’ भारतसँगै बंगलादेश र भुटान पनि नजिकका व्यापारिक साझेदार भएकाले सडक सञ्जालले महत्त्व राख्ने उनको भनाइ छ। काँकडभिट्टा नेपालको लागि पनि विशेष नाका हो। पर्यटकीय दृष्टिकोणले यो नाका झन् विशेष मानिन्छ। जुन नाकाबाट एकै दिनमा तीन देश भारत, भुटान र बंगलादेश पुगी फर्किन सकिन्छ।

पश्चिम बंगालको बागडुग्रा विमानस्थलबाट काँकडभिट्टा आइपुग्न आधा घण्टा र काँकडभिट्टाबाट भद्रपुर विमानस्थल आधा घण्टाको दूरीमा रहेकाले झापा हुँदै काठमाडौँ जाने पर्यटकलाई पनि सहज हुने देखिन्छ। ‘स्थलमार्गबाट भित्रिने पर्यटकको चाप बढ्छ’, मेचीनगर उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले भने, ‘नेपाल छिरेका बंगलादेशी पर्यटकले फर्किंदा भारतीय बाटो पाउने हो भने यहाँ ठूलो भीड हुन्छ।’ ‘एसियन हाइवे’ विस्तार भएपछि सीमावर्ती सहर काँकडभिट्टाको स्वरूप फेरिएको छ। फराकिलो सडक सीमासम्म आइपुग्दा स्थानीयवासी पनि उत्साहित छन्। अन्नपुर्ण पोस्ट