अक्सफोर्डको भ्याक्सिनले ९९ प्रतिशतमा प्रतिरोधी क्षमताको विकास, वृद्धमा पनि प्रभावकारी

काठमाडौं। अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरस भ्याक्सिनले पाका वृद्धवृद्धाहरुमा पनि सशक्त तरिकाले प्रतिरोधी क्षमता विकास गरेको पाइएको छ । यससँगै यो भ्याक्सिनले सबैभन्दा जोखिममा रहेको उमेर समूहका व्यक्तिहरुलाई बचाउन सक्ने अपेक्षा गरिएको छ । अनुसन्धानकर्ताहरुले नतिजा उत्साहजनक भएको बताएको बीबीसीको रिपोर्टमा उल्लेख छ । ५६० स्वयंसेवकहरुमा गरिएको अनुसन्धानको नतिजाबारे अनुसन्धानकर्ताहरुले द ल्यान्सेट मेडिकल जर्नललाई बताएका हुन् ।

अनुसन्धानकर्ताहरुले फेज–३ ट्रायलमा पनि यो भ्याक्सिनको नतिजा राम्रो आउने अपेक्षा गरेका छन् । तेस्रो चरणको वृहत ट्रायलको नतिजा पनि केही कप्तामै आउने क्रममा छ । फाइजर–बायोएनटेक, मोडर्ना र स्पुतनिकका भ्याक्सिनले फेज ३ ट्रायलमा पनि राम्रो नतिजा आएको बताइसकेका छन् । युनिभर्सिटी अफ अक्सफोर्टको अध्ययनका नेतृत्वकर्ता प्रोफेसर एन्ड्रयु पोलार्डले बीबीसीसँग भो ‘म यो नतिजाबाट उत्साहित छु ।’ ७० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुमा पनि सशक्त प्रतिरोधी क्षमता विकास हुनु उत्साहजनक भएको उनले बताए ।

उनले फेज ३ ट्रायलको नतिजा क्रिसमसभन्दा अगाडि नै आइसक्ने बताए । प्रोफेसर पोलार्डले आफूहरुको अरु भ्याक्सिनसँग कुनै प्रतिस्पर्धा नभएको बताउँदै अरु च्याक्सिन पनि सफल हुनु जरुरी रहेको बताए । ‘हामी चाहन्छौं यी सबै भ्याक्सिनले विश्वभरीका मानिसको रक्षा गरुन्’ उनले भने । अनुसन्धानकर्ताहरुका अनुसार ५६ देखि ५९ वर्षसम्मका व्यक्तिहरु र ७० वर्षमाथिका व्यक्तिहरुमा प्रतिरोधी क्षमताको विकासको गति उस्तै रहेको बताएका छन् ।