तत्काल लकडाउनको सम्भावना छैन

४ मंसिर २०७७, बिहीबार पर्सा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले तत्कालै लकडाउनको संभावना नभएको बताउनुभएको छ ।सरकारले पुनह लकडाउनको तयारी गरिरहेको चर्चा चलिरहेका बेला मन्त्री भट्टराइले त्यसो नहुने बताउनुभयो । वीरगंजमा भएको नेकपा कार्यकर्ता भेलामा उहाँले अघिल्लो लकडाउनका बेला आम जनजीवन निकै कष्टकर भएकाले सरकार अब त्यस्तो बाटोमा नलाग्ने बताउनुभयो ।मन्त्री भट्टराईले बन्द रहेका भारतसँगका नाका पनि छिट्टै खुल्ने जानकारी दिनुभयो ।

नाका खुलेपछि भारतबाट ठुलो संख्यामा नागरिक आउन सक्ने भन्दै उहाँले सचेत बन्नुपर्ने बताउनुभयो ।नेकपाका स्थायी समिति सदस्यसमेत रहेका भट्टराईले पार्टी मिलाउन चिनियाँ पक्ष लागिरहेको भन्ने दाबी सत्य नभएको बताउनुभयो । उहाँले पार्टी एक ढिक्का राख्न आफू जस्तोसुकै त्यागका लागि पनि तयार रहेको उल्लेख गर्नुभयो ।