कुण्डै कुण्डको शहर जनकपुरधामलाई सिंगारिँदै

जनकपुरधाम । मिथिलाञ्चलमा धुमधामका साथ मनाइने लोक आस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि गरिँदै छ। छठ पर्व गरेका व्रतालुहरूले आज बेलुका इष्टदेवलाई पूजा अराधना गरि खरना विधि सम्पन्न गर्ने छन्। खरना विधिमा माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खीर पकाइन्छ र नैवेद्य चढाउने बेलामा जतिवटा अघ्र्यदान गरिने हो, त्यति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने परम्परा प्रचलन रहेकाे छ। यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि राखिन्छन्।

नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ। नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने प्रचलनलाई खरना भन्ने गरिन्छ। मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई मधेशको विभिन्न स्थान तथा गाउँघरमा भव्य तयारी भइरहेको छ। यसका लागि पोखरीका डीलहरूलाई सरसफाई गरिएको छ। जनकपुरधाम उपमहानगरका प्रमुख पोखरीहरू गँगासागर,धनुषसागर,अंगराजसर,बिहारकुण्ड,अग्निकुण्ड, भैया पोखरी, महन्थ पोखरी, लगायतका जलाशयहरुमा सरसफाई तथा घाटहरूलाई सिंगारेर पूजाको तयारी गरिँदै छ।

नगरभित्रका पोखरी सरसफाइदेखि पूजास्थल निर्माण अन्तिम चरणमा रहेको छ। पोखरी नै पोखरीको शहरको रूपमा चिनिएको जनकपुरधामका प्रमुख पोखरीमा छठ पूजाकै लागि टेन्ट र पण्डाल लगाइँदै छ। शुक्रबार हुने छठ पर्वका लागि जनकरपुरधाममा कोरोना संक्रमणको भय कायमै रहेकोले सावधानी अपनाएरै पूजापाठ गर्ने व्यवस्था मिलाइँदैैछ। जनकपुरधामको गंगासागर पोखरीमा छठ पर्वको प्रमुख आकर्षण हुन्छ। यहाँ छठ पर्व गर्न आउनेहरूको भीड पनि बढी हुन्छ। यस पोखरीमा गंगासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरंग युवा कमिटीले छठ पूजाका लागि व्यस्थापन गर्दै आईरहेको छ।

गंगासागर पोखरीमा छठ पर्व मनाउन आउनेहरूको परिवारका एक सदस्य र साथमा छठका लागि अन्य दुई जनालाई मात्र प्रवेशको व्यवस्था मिलाइएको गंगासागर छठ पूजा समितिका जानकारी दिएका हुन्।जनकपुरधामको गंगासागर पोखरीका अतिरिक्त धनुषसागर, अंगराज सर, दशरथ तलाउ, जानकी सरोवरलाई स्थानीय युवा क्लबहरूले सजाइरहेका छन्। धनुषसागरमा गणेश युवा कमिटी र राम युवा कमिटी, अंगराज सरमा मिथिला सेवा समाज र जानकी युवा कमिटीले छठ पूजा व्यवस्थापन गरिरहेका छन्।