ट्यांकरबाट तेल चोर्ने गिरोहमाथि महाप्रबन्धक पौडेलको एक्सन

काठमाडौं। नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटमा पेट्रोल बोकेर आएका दुई वटा ट्यांकरमा नयाँ सानो ट्यांकी (फल्स चेम्बर) बनाई तेल चोरी गर्ने गरेको भेटिएको छ। लकिङ सिस्टम जडानपछि सजिलै तेल चोरी गर्न नसकेका ट्यांकरचालकले नयाँ विधिबाट तेल चोरी गर्न थालेको भेटिएको हो। ट्यांकरभित्र नयाँ सानो ट्यांकी (फल्स चेम्बर) बनाई त्यहाँ तेल हालेर चोरी गरेको भेटिएको निगमले जनाएको छ। दुईवटा ट्यांकरमा आएको पेट्रोल कम रहेको पाएपछि घटनाबारे विस्तृतमा अध्ययन थालिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

उनले एक विज्ञप्ति जारी गरेर इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट २०/२० हजार लिटर पेट्रोल बोकेर आएका ना.७ख ३६९६ र ना.७ख २९९५ नम्बरको ट्यांकरमा कम तेल पाइएको बताए। सुराकीका आधारमा उक्त ट्यांकरको चेकजाँच गर्दा फल्स चेम्बर जडान गरिएको भेटिएको प्रवक्ता उपाध्यायले जानकारी दिए। उक्त दुई ट्यांकर वेताल आर्शिवाद कम्पनी प्रा.लिका सञ्चालक राज भट्ट, दिपेन्द्र बहादुर बम र सदेन व्यञ्जनकारको नाममा रहेको विज्ञप्तिमा भनिएको छ। प्रवक्ता उपाध्यायका अनुसार बुधबार साँझ तेल लिएर आएका ट्यांकरको डिपरडले परिमाण परीक्षण गर्दा दुवै ट्यांकरको तीन र चार नम्बर च्याम्बरको बीचभागमा नयाँ सानो ट्यांकी बनाएर तेल राख्ने गरेको भेटिएको हो।

त्यसमै तेल लुकाएर चोरी गरिएको निगमले जनाएको छ ।ट्यांकर सञ्चालकहरूलाई करिब १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको निगमको प्रवक्ता उपाध्यायले बताए। चालक र ढुवानीकर्तालाई थप सजायका लागि अन्य निकायमा पनि पत्राचार गरिने निगमले जनाएको छ। दुई वर्षअघिबाट ट्यांकरमा रहेको तेल चोरी गर्न नमिल्ने गरी आधुनिक ताल्चा जडान गरेपछि चालकहरूले विभिन्न उपाय लगाएर चोरीलाई जारी राखेका छन्।