संक्रमित हुने पुरुषको संख्या महिलाको भन्दा झण्डै दोब्बर

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुने पुरुषको संख्या ६६ प्रतिशत रहेको छ भने महिलाको संख्या ३४ प्रतिशत रहेको छ ।नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । जसमध्ये ७३ हजार ७५० जना महिला रहेका छन् भने, १ लाख ४३ हजार २१५ जना पुरुष रहेका छन्। mपछिल्लो समय नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३४० नमुना परीक्षण गर्दा थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै ५३ सय ६४ जना निको भएर घर फर्किएका छन् ।हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ८८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २९८ पुगेको छ। यस्तै हालसम्म ७५३ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको पीसीआर परिक्षण भएको छ ।