अस्ताउदो सूर्यलाई अर्घ दिई कपिलवस्तुमा छठ पर्ब हर्ष उल्लासका साथ आरम्भ

कपिलवस्तु । कपिलवस्तुमा आज अस्ताउदो सूर्यलाई अर्घ दिई छठ पर्ब हर्ष उल्लासका साथ शुरु गरिएको छ । यसवर्ष कोरोना भाईरस कोभिड १९ ले गर्दा समाजिक दुरी अपनाउदै छठमा अस्ताउदो र उदाउदो सूर्यलाई अर्घ दिन तयारीहरु भइरहेका छन् ।विगतको वर्षहरुमा भीडभाडका साथ मनाए पनि यसवर्ष स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर छठ पर्व मनाउना कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले अनुरोध गर्नु भएको छ ।कपिलवस्तुको तौलिहवा, कृष्णनगर, बहादुरगंज, पकडी लगायतको ठाँउमा नदि पोखरी ताल किनारामा मनाउना थालिएको छ ।

जिल्लाको सदरमुकाम तौलिहवा स्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारनदी लगायत जिल्लाको बाणगंगाको रामघाटनदी र कृष्णनगर सुरैया नदी र तालहरुमा अस्ताउदो सुर्यलाई अर्घ दिई छठ पुजा शुरु गरिएको हो ।अर्घ दिनुअघि नदि किनारामा पूजा स्थल निमार्ण गरि प्रशोधित सामाग्री प्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु पिठो र गुड बाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका सथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवा लगायतका सामाग्री र फलफुलको प्रसाद राखी पूजागरिएको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

गतवर्षहरुको तुलनामाकपिलवस्तुको सदरमुकामतौलिहवामा छठ पर्व मनाउने महिलाहरुको संख्या बढ्दै गएको छ । विशेष गरी नेपालकापूर्वी तराई जिल्लाबाट वसाईसराई गरी आएका तथा जागीरका क्रममा कपिलवस्तुमा रहेका महिलाहरुबाट शुरु भएको यो पर्व विस्तारै यस क्षेत्रका मैथली,अवधीतथा पहाडी महिलाहरुले पनि धुमधामका साथ मनाउने क्रम शुरु भएको छ ।