ओलीले राखे देउवालाई आठ मन्त्रालयसहित सहकार्यको प्रस्ताव

काठमाडौँ– सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला कांग्रेस सभापतिसँग शनिबार दिउँसोको भेटलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ। संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा छलफल गर्न भनेर ओलीले देउवासँग सत्ता साझेदारीको विषयमा कुरा गरेको बताइएको छ। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेका छन्।

शनिबार बालुवाटारमा भएको दुईजनाको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेका छन्। देउवाले सहयोगीहरुसँग सल्लाह गरी उचित निर्णय लिने आश्वासन ओलीलाई दिएको एक उच्च राजनीतिक स्रोतले बतायाे। प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै सहकार्यको प्रस्ताव देउवा समक्ष ओलीले राखेको स्रोतले बतायो। देउवाले तत्काल कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि ओलीसँग आग्रह गरेको बुझिएको छ।