महिना दिनभित्रै कक्षा १२ को नतिजा

काठमाडौं, । कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिनुभयो । यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्ने भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित समन्वयमा काम भइरहेको जनाइएको छ ।

परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिने अवसर बोर्डले उपलब्ध गराएको थियो ।शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाइदिएपछि तीन साताभित्र परीक्षाको बाँकी काम पूरा गर्ने बोर्डको तयारी छ ।

त्यसपछि सम्परीक्षणको काम एक साताभित्र सक्ने योजना छ । विद्यार्थीको प्राप्ताङ्क चढाउने र परीक्षा प्रकाशनको अन्तिम तयारी गर्ने योजना बनाइएको छ । यसका लागि तीन साताभित्र सकिने अध्यक्ष पौडेल बताउनुहुन्छ ।यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डको तयारी छ ।कोरोनाबाट प्रभावित विद्यार्थी परीक्षामा सहभागी हुँदा अन्य विद्यार्थीलाई सङ्क्रमणको समेत त्रास हुने भएकोले सङ्क्रमित विद्यार्थीलाई पुनः परीक्षा लिने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ ।

त्रिभुवन विश्वविद्यालयले भने यस खालका विद्यार्थीलाई अन्य विद्यार्थीभन्दा १५ मिनेट ढिला गरी परीक्षा प्रारम्भ गर्ने गरी सूचित गरिसकेको छ ।कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीले एक महिनाभित्र नतिजा हात पारेपछि शैक्षिक सत्रमा कुनै क्षति नहुने विश्वास बोर्डका अध्यक्ष पौडेलले व्यक्त गर्नुभयो । शैक्षिक सत्र मिलाउने विषयमा पछिल्लोपटक विश्वविद्यालयहरूसित छलफल नभए पनि यस विषयमा आवश्यक समन्वय गरिदिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरिएको जनाइएको छ ।गोरखापत्र