कक्षा १२ को प्रश्नपत्र नछाप्दा करिब ५ करोड रुपैयाँ बचत

काठमाडौं, कोभिड–१९ त्रासबीच नै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (माध्यमिक शिक्षा परीक्षा) को परीक्षा मंगलबार सम्पन्न गरेको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालयहरूले परीक्षा सञ्चालन गरे र सफल पनि भयो । यस पालिको परीक्षामा प्रश्नपत्र छपाइ, प्याकेजिङ, ढुवानी तथा सुरक्षालगायतमा खर्च नै गर्नु परेन । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार कक्षा १२ सञ्चालन रहेका चार हजार एक सय ५ विद्यालयमध्ये तीन हजार नौ सय ५० विद्यालयको बोर्डले इमेल बनाएर सबै विषयको प्रश्नपत्र पठाएको थियो ।

साथै सबै विद्यालयको वेबसाइटसँग बेबसाइटमा कनेक्ट गरिएको थियो । परीक्षाको आधा घण्टाअगाडि मात्र विद्यालयमा प्रश्नपत्र इमेल गरिएको थियो । १२ को परीक्षा प्रविधिमैत्री बनेकाले यस पालि बोर्डको ५ करोड बढी रकम बचत भएको छ ।‘हाम्रा डेढ सय जति विद्यालय मात्र प्रविधिमैत्री भएनन् । ती विद्यालयमा बोर्डले प्रश्नपत्र छपाएर पठायो,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘माध्यमिक तहको एउटा परीक्षा सञ्चालन गर्न प्रश्नपत्र बनाउनेदेखि सुरक्षा भण्डारणसम्मको कार्य सम्पन्न गर्न करिब ५ करोड रकम खर्च हुने गरेको छ । जुन यसपालि बच्यो ।

सरकारले अब आउँदो एसइई परीक्षालाई पनि प्रविधिमैत्री बनाउने हो भने अहिलेदेखि नै तयारी गर्नुपर्छ । केन्द्रहरूलाई प्रविधिमैत्री बनाएर जानुपर्छ । प्रश्नपत्र छपाइ, प्याकेजिङ, ढुवानी तथा सुरक्षा भण्डारणको झन्झट हट्छ । एसइई परीक्षामा करिब २ हजार मात्र परीक्षा केन्द्र हुन्छन् ।’ उनका अनुसार प्रविधिमैत्री बनाउन तोकिएका केन्द्रमा नेटको सुविधा, एउटा कम्प्युटर, प्रिन्टर, फोटोकपी, पावर ब्याकअपको व्यवस्था गरे पुग्छ ।अध्यक्ष पौडेलले बुधबारदेखि नतिजा प्रकाशनको सबै काम थाल्ने बताए । उनले कोभिडका कारण परीक्षा नै ढिला सञ्चालन भएकाले अब विश्वविद्यालय प्रवेशको बाटोमा धेरै ढिला गर्न नहुने जनाए ।

‘बोर्डले पुस १५ गतेभित्र कक्षा १२ को नतिजा प्रकाशनका लागि तय गरिरहेको छ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘त्यही रफ्तारमा बुधबारदेखि उत्तरपुस्तिका परीक्षण काम सुरु हुँदै छ । नतिजा प्रकाशनका सबै काम सोही रफ्तारमा अघि बढिरहेको छ ।’विद्यालय बिस्तारै प्रविधिमैत्री बन्दै गएको कक्षा १२ को परीक्षाले प्रमाणित गरिदिएको विद्यालयका प्रधानाध्यापकहरूको अनुभव छ । पुलचोकमा रहेको त्रिपद्म माविका सहप्रधानाध्यापक विष्णु घिमिरेका अनुसार यसपालि उनको विद्यालयबाट एक सय ६५ जनाले कक्षा १२ को परीक्षा दिए ।

परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअगावै मात्र इमेलबाट प्रश्नपत्र आएको र प्राप्त प्रश्नपत्रलाई प्रिन्ट गरेर फोटोकपी गरी सबै विद्यार्थीलाई बाँडेको जनाए । ‘यसैगरी एसइईको परीक्षामा पनि प्रश्नपत्र इमेलबाट पठाएर सञ्चालन गर्न सकिन्छ,’ सहप्रधानाध्यापक घिमिरेले नागरिकसँग अनुभव सुनाए, ‘सुरक्षित, व्यवस्थित र मर्यादित परीक्षा प्रविधिमैत्रीबाटै हुँदो रहेछ भन्ने उदाहरण कक्षा १२ को परीक्षा बनेको छ ।’नागरिक