आफ्नै गाउँमा स्कुल भएको भए हामी नेपालमै पढ्न सक्थ्यौं

काठमाडौं : हौसलपुरकी विमला चौधरी कक्षा १० मा पढ्छिन्। उनी पढ्न भारतको सरस्वती शिशु विद्या मन्दिरमा जान्छिन्। ‘हाम्रो गाउँका सबै केटाकेटी भारतमै पढ्छन्,’ उनले भनिन्। उनीहरू कोही पैदल, कोही साइकल लिएर भारतको स्कुलमा १० मिनेटमै पुग्न सक्छन्। ‘हामी भारतमा पढ्ने भएकाले स्कुलमा हिन्दी, अंग्रेजी र संस्कृत पढ्छौं । नेपालमा नपढेकाले हामी नेपाली भाषा जान्दैनौं र बुझ्दैनौं,’ उनले भनिन् । स्कुल भए गाउँमा पढ्ने उनले बताइन्। नेपाली भाषा सिक्न पनि जरूरी रहेको उनले बताइन् ।

‘यदि हाम्रो गाउँमा पुल बनेको भए, स्कुल बनेको भए हामी नेपालमै पढ्न सक्थ्यौं,’ उनले भनिन्। कैलालीको कैलारी गाउँपालिका-७ मा विमलाको गाउँ हौसलपुर पर्छ । यो भारतसँग सिमाना जोडिएको बस्ती हो। यो बस्तीबाट नेपाल आउन मोहना नदी तर्नुपर्छ ।मोहना नदीमा पुल छैन। उनका बुवा राजकुमार हौसलपुर गाउँका चौकीदार हुन्। बस्तीमा करिब ५५ जना स्कुल पढ्ने केटाकेटी रहेको उनले बताए। ‘नेपालका स्कुल जान मिल्ने बाटो छैन हाम्रो गाउँमा,’ उनले भने, ‘पढाउन पठाउँ भने बाढी आउँछ यता। बाटो र पुल नभएका कारणले हामी टापुमा बसेका छौं।

नेपाल जान नसकेर हामी केटाकेटीलाई भारतमै पढाउँछौं।’ गाउँमा स्कुल बने केटाकेटीलाई भारत नपठाउने उनी बताउँछन्। हौसलपुर गाउँका भलमन्सा टिकाराम चौधरीले पनि गाउँमा स्कुल नभएकाले केटाकेटीलाई भारत पढ्न जानुपर्ने बाध्यता रहेको बताए। ‘उता हिन्दी सिक्छन् तर नेपाली बोल्न नै जान्दैनन्,’ उनले भने। केटाकेटीलाई नेपालको पढाइ नभएर भविष्यमा समस्या पर्ने हो कि भन्ने चिन्तामा अभिभावक रहेको भलमन्सा चौधरीले बताए।थप भिडीयो मार्फत हेर्नुहोस, भिडीयो यहाँ लिंकमा छ