जनशक्ति अभावका कारण समयमै पुरा हुन सकेन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा ।विदेशी दक्ष जनशक्तिको अभावमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै पुरा नहुने भएको छ ।विमानस्थलको निरिक्षण तथा अवलोकन गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले कोभिडका कारण विदेशी दक्ष जनशक्ति नआएका कारण विमानस्थल पुरा हुन नसकेको बताए ।विदेशी कामदारले असुरक्षाको महसुस गरेका कारण विशेष गरी थाईल्याण्डका दक्ष कर्मचारीहरु नआउँदा समयाबधि थप्नुको विकल्प नभएको मन्त्रीले बताए ।उपकरण जडानको काम मात्रै बाँकी रहेको बताउँदै मन्त्री भट्टराईले थाइका दक्ष कामदार आएमा छिटो सम्पन्न हुने बताए। थाईले कुनैपनि अन्तर्राष्ट्रिय विमानस्थल नखोलेका कारण समस्या भएको उनले बताए।

विमानस्थल सम्पन्न गर्ने अवधि २५ दिन बाँकि हुँदा पर्यटन मन्त्रीले विमानस्थलको भौतिक प्रगति बुझेका हुन् । अब के कति कारणले विमानस्थलको समय थप्ने हो भनेर २५ दिनको गृहकार्य गर्न समेत मन्त्री भट्टराईले आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।३१ डिसेम्बर २०१४ मा काम सुरु भएको आयोजनाको ३१ डिसेम्बर २०२० सम्मका लागि पाँचौपटक म्याद थपिएको थियो । निर्माणाधीन विमानस्थलमा २ वटा कन्ट्याक्टमध्ये आइसिपी ०१ भनेको ६ अर्ब ८२ करोडको कन्ट्याक्ट र आइसिपी २ भनेको करिब ५० करोडको भ्याट सहितको रकम कन्ट्याक्ट भएको आयोजना प्रमुख प्रबेश अधिकारीले बताए ।२२ अरब रुपैयाँको ९६ प्रतिशत मुआब्जा समेत वितरण गरिएको अधिकारीले बताए ।