अर्जेन्टिनामा लखपतिहरूबाट थप कर असुलेर गरिबकाे उपचारमा खर्च गर्ने कानुन पारित

काठमाण्डौ – अर्जेन्टिनामा लखपतिहरूबाट थप कर असुल्ने कानुन पारित भएको छ । कोरोना भाइरस महामारीको कारण निम्न आय भएका नागरिकलाई परेको असर कम गर्न कर सम्बन्धी नयाँ नीति पारित भएको बीबीसीले जनाएको छ ।लखपतिहरुबाट असुल भएको थप कर को’रोना विरुद्धको औषधी उपचारमा खर्च हुनेछ र यस्तो खर्च विशेष गरेर निम्न आय भएका व्यक्तिमा केन्द्रित हुनेछ । संसदमा भएको मतदानमा नयाँ कर नीतिको पक्षमा ४२ र विपक्षमा ३६ मत खसेको थियो । नयाँ कानुन अर्जेन्टिनाका २० करोड पेसो अर्थात् २५ लाख डलर भन्दा धेरै सम्पत्ति रहेका लख पतिहरुमा लागू हुनेछ ।

यस्ता लखपतिले देशभित्र भएको सम्पत्तिको साढे ३ प्रतिशत र देशबाहिर भएको सम्पत्तिको ५ दशमलव २५ प्रतिशत कर सरकारलाई बुझाउनु पर्नेछ । अर्जेन्टिनामा २५ लाख डलरभन्दा धेरै सम्पत्ति हुनेको सङ्ख्या १२ लाखभन्दा धेरै रहेको छ । नयाँ कर नीति बाट तीन सय अर्ब पेसो सङ्कलन हुने अनुमान छ। यसरी धनीबाट सङ्कलन भएको करको २० प्रतिशत रकम औषधी उपचारमा, २० प्रतिशत मझौला उद्यमीको सहयोगमा, २० प्रतिशत छात्र वृत्तिमा, १५ प्रतिशत सामाजिक विकासमा र २५ प्रतिशत रकम प्राकृतिक ग्यास सँग सम्बन्धित उद्योगमा खर्च गरिनेछ । अर्जेन्टिनामा अहिलेसम्म १५ लाख जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकोमा ४० हजारभन्दा धेरैको ज्या’न गएको छ ।