धुर्मुसुको विश्वास– उधारोमा काम भइरहेको छ, अब त पैसा उठ्छ कि !

काठमाडौं । केही समय अगाडि नेपाल क्रिकेट संघका पदाधिकारी निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अवलोकनका लागि पुगेका चितवन थिए । सोही समय रंगशाला बनाइरहेका सीताराम कट्टेल (धुर्मुस)ले केही प्रस्ताव गरे– रंगशालाको अभिभावकत्त्व तथा अपनत्त्व ग्रहण गर्नुपर्‍यो । राष्ट्रिय प्रतियोगिताहरू गर्न हाम्रो नमुना ग्राउन्ड तयार छ । नेपाल क्रिकेट संघका पदाधिकारीसँगै थिए, वागमती प्रदेश क्रिकेट संघ र जिल्ला क्रिकेट संघ चितवनका पदाधिकारी पनि । उनीहरुले त्यहीँ प्रतिवद्धता जनाए– हाम्रै लागि बनिरहेको रंगशाला हो । अब हामी सुरु गर्छौं ।”

नभन्दै उनीहरु प्रतिवद्धताबाट पछि हटेनन् । “कोभिडका कारण संसार नै ठप्प भएका बेला गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाबाट राष्ट्रिय प्रतियोगिता सुरु हुनु हाम्रा लागि पनि गौरवको पक्ष हो,” सीताराम भन्छन्, “आफैंले बनाएको ग्राउन्डबाट राष्ट्रिय स्तरको प्रतियोगिता हुनु मेरो लागि खुसीको कुरा हो ।” समग्र खेलकुद क्षेत्र र खेलाडीको स्तरोन्तिका लागि दुःखका साथ कर्म गरिरहेका बेला यहीँबाट कोरोनाका कारण रोकिएको खेल पुनः सुरु हुन सकारात्मक पक्ष भएको उनी बताउँछन् । कोरोनाभाइरसको महामारीपछि पहिलो क्रिकेट प्रतियोगिता गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको नमुना मैदानमा ‘गौतम बुद्ध कप’ सञ्चालन हुने भएको हो ।

यही मंसिर २७ गतेबाट ३० गतेसम्म प्रतियोगिता हुने छ ।खेल नमुना ग्राउन्डमा हुने भए पनि राष्ट्रिय स्तरका प्रतियोगिता गर्न सकिने सीताराम बताउँछन् । तीनवटा पीच भएको ६० यार्डको मैदान भएकाले खेल खेल्न सकिने स्पष्ट पार्दै उनी भन्छन्, “आउटफिल्डदेखि राम्रो पिच भएकाले जुनसुकै राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ । नमुना ग्राउन्ड भने पनि मापदण्डभित्र रहेर बनाइएको छ ।” राष्ट्रिय खेलाडीहरु एकै ठाउँमा उपस्थित भएर कोरोनाले थला परेको क्रिकेट पुनः सुरू भएपछि राम्रो सन्देश जाने अपेक्षा गरेका सीतारामले निर्माणाधीन रंगशाला निर्माणका सहयोगको माहोल बन्ने अपेक्षा पनि गरेका छन् ।

“यो प्रतियोगिताले सकारात्मक प्रचार गर्छ । रंगशालाप्रति चासो र मोह जगाउँछ भन्ने लाग्छ । खेलाडीहरुका लागि बनिरहेको मन्दिरमा राष्ट्रिय खेलाडीहरु उपस्थित भएर खेल्नथाले पनि हाम्रा लागि काम भइरहेको छ । यो धुर्मुस सुन्तलीले भन्दा पनि हामीले बनाउने हो भन्ने भावना जागृत हुन्छ भन्ने लाग्छ,” सीताराम अगाडि थप्छन्, “नेपाल क्रिकेट संघका पदाधिकारीहरुमा अपनत्वको भावना सिर्जना गर्छ । र रंगशाला निर्माणमा अर्को एउटा कोषेढुङ्गा सावित गर्छ भन्ने मेरो विश्वास छ ।”अन्तर्राष्ट्रिय खेल मैदानको ८५ प्रतिशत काम सकिसकेको ३० हजार दर्शक क्षमताको रंगशालाको प्यारापिट उठिसकेको छ ।

महायज्ञमा घोषणा गरिएको सहयोेग रकम नउठ्नु, संघीय सरकारले आर्थिक सहयोग नगर्नु तथा अन्य क्षेत्रबाट प्रतिबद्धता जनाएअनुसार पैसा नआउँदा अहिले रंगशालाको काम उधारोमा निर्माण सामग्री लिएर भइरहेको सीतारामको भनाइ छ । उक्त रंगशालालाई संघीय सरकारले दिने भनेको रकम क्याविनेटमा पुगेर फाइल अड्किँदा निकासा हुन सकेको छैन । चितवनमा निर्माणाधीन रंगशालामा हाल २५३ मजदूरले दैनिक काम गरिरहेका छन् । रंगशाला निर्माण कार्य कोभिड–१९ को महामारीमा केही हप्ता अबरोध भए पनि त्यसबाहेक रोकिएको छैन । बाह्रखरी