कोरोना खोप लगाएपछि पनि मास्क लगाउन छोद्नुहुदैन !

काठमाडौं । अमेरिकी कम्पनी फाइजर र मोडर्नाले आफूले विकास गरेको खोप कोरोना महामारी नियन्त्रणका लागि निकै प्रभावकारी हुने दाबी गरेका छन् ।तर खोपले कोरोना संक्रमण कति प्रभावकारी रुपमा नियन्त्रण गर्छ भन्ने स्पष्ट भइसकेको छैन । किनकी दुवै कम्पनीले ट्रायलका क्रममा भ्याक्सिन लगाएका कति मानिस कोभिड–१९ का कारण बिरामी भए भनेर मात्र हेरेका छन् ।यसले कोरोना खोप लगाएका मानिसहरु लक्षणविना संक्रमित भइरहेको हुनसक्ने सम्भावना रह्यो । साथै उनीहरुले अन्य मानिसहरुलाई पनि भाइरस सार्नसक्ने सम्भावना भयो ।

त्यसैले खोप लिएका मानिसले अन्य मानिसको सम्पर्कमा आउँदा मास्क लगाउन छाडे भने थाहै नपाई यो संक्रमण अन्य मानिसहरुमा सर्न सक्छ ।‘धेरै मानिसलाई खोप पाएपछि मास्क लगाउन छाड्न पाइन्छ भन्ने लागेको छ’, स्ट्यानफोर्ड युनिभर्सिटीका रोग प्रतिरक्षाविद् मिचल टाल बताउँछन्, ‘तर उनीहरुले के बुझ्नुपर्छ खोप लगाएपछि पनि आफूबाट अन्यमा संक्रमण फैलिने जोखिम हुन्छ ।’श्वासप्रश्वाससम्बन्धी अधिकांश संक्रमणमा जस्तै नयाँ कोरोना भाइरस शरीरमा प्रवेश गर्ने मुख्यतः नाकबाटै हो । भाइरस त्यहाँ उल्लेख्य मात्रामा विस्तार हुनसक्छ र, शरीरको प्रतिरोधी क्षमतासँग टकराव हुन्छ र शरीरले एन्टिबडी बनाउँछ ।

मानिसको शरीरमा नाक, मुख, फोक्सो र पेटलाई जोड्ने घाँटीको भागमा म्युकोसा हुन्छ । म्युकोसामा रहेको एन्टीबडीले भाइरसलाई पहिचान गरेर नष्ट गरिदिन्छ र शरीरमा भाइरस फैलिनबाट बचाउँछ ।जबकी कोरोना खोप पाखुराको मांशपेशीमा दिइन्छ र शरीरमा एन्टिबडी विकास हुन्छ । यही एन्टीबडीले बिरामी हुनबाट बचाउँछ । एन्टिबडी म्युकोसासम्म पनि पुग्छ तर, कति मात्रामा पुग्छ र कति छिटो पुग्छ भन्ने स्पष्ट हुन सकेको छैन । त्यसैले खोप लगाएको व्यक्तिको नाकबाट भाइरस प्रवेश गरेर म्युकोसामा पुगेको छ तर एन्टीबडीले नष्ट गरिनसकेको रहेछ भने हाच्छ्यूँ गर्दा वा सास फेर्दा भाइरस बाहिर निस्किछ र अरुलाई संक्रमित हुने सम्भावना हुन्छ ।

खोप परीक्षणको नतिजा सार्वजनिक गर्दा खोप लगाएका, तर लक्षण विनाको संक्रमण भेटिएका मानिसको तथ्यांक सार्वजनिक गरिँदैन । यद्यपि केही संकेत भने पाइएको छ ।अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर खोप विकास गरेको एक्स्ट्राजेनेकाले आफ्नो परीक्षण केही नतिजा गत नोभेम्बर महिनामा सार्वजनिक गरेको थियो । जसमा कम्पनीले आफ्ना स्वयंसेवकहरुले निरन्तर कोरोना परीक्षण गराएको र खोप केही संक्रमण नियन्त्रणका लागि प्रभावकारी देखिएको बताएको थियो ।