जो बाइडेनका छोरा हन्टरमाथि करको मामिलामा छानबिन हुँदै

एजेन्सी, २५ मंसिर । नवनिर्वाचित अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप लागेको छ । उनी माथि अमेरिकाको डेलावेयर राज्यमा अनुसन्धान चलिरहेको छ । हन्टर बाइडेनले भने आफु निर्दोष रहेको भन्दै आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको र कानुनी ढंगले सही निर्णय आउनेमा आफु विश्वस्त रहेको जनाएका छन् ।सन् २०२० को चुनाव अभियानमा हन्टर रिपब्लिकन पार्टीको निशानामा थिए ।

यो वर्षको सुरुवातमा जब डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको मुद्दा चलाइएको थियो तब पिता उप–राष्ट्रपति हुँदा हन्टर बाइडेन एक युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा समावेश थिए भन्ने विषय पनि छानबिनको दायरामा आएको थियो । ट्रम्पले युक्रेनमाथि हन्टर बाइडेनको अनुसन्धानका लागि दबाब दिएको र यस्तो नगरे सैन्य मद्दत रोक्ने चेतावनी पनि दिएको आरोप लागेको छ । नवनिर्वाचित अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि अमेरिकाको डेलावेयर राज्यमा अनुसन्धान चलि रहेको छ ।