राज्यव्यवस्थाको निर्देशन विपरीत सरकारले गर्‍यो एआइजीमा बढुवा

काठमाडौँ : प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशनविपरित सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा विश्‍वराज पोखरेलको बढुवा गरेको छ । उनलाई बढुवासँगै पदस्थापन पनि गरिएको छ । समितिको बुधबारको बैठकले प्रहरीमा एआइजी सरकारलाई नथप्‍न निर्देशन दिएको थियो ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेर अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको हो । मन्त्रिपरिषद्ले पोखरेल कार्यरत् महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा अपराध अनुसन्धान विभागमा कार्यरत् एआइजी हरिबहादुर पालको सरुवा गरेको स्रोतले जानकारी दियो ।

बैठकले मेट्रोमा अब एआइजी राख्‍ने निर्णय गर्दै पालको सरुवा गरेको हो। अहिलेसम्म मेट्रोमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थियो । केही साता अघिमात्रै सरकारले संगठन संरचना तथा व्यवस्थापन (ओएन्डएम) स्वीकृत गर्दै सरकारले एक जना एआइजीको दरबन्दी थपेको थियो । त्यही दरबन्दीमा पोखरेललाई बढुवा गरिएको हो । मन्त्रिपरिषद्‍ले मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ । गेलाल सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक थिए ।