गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे विवाह

पोखरा ।गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधिले विवाह गरेका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच शुक्रबार विवाह भएको हो ।सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा बौद्ध परम्परानुसार विवाह कार्यक्रम आयोजना गरिएको थियो । गाउँपालिका अध्यक्ष कर्णबहादुर ४७ र उपाध्यक्ष शर्मिला ४६ वर्षका छन् ।अध्यक्ष गुरुङले आफूहरुबीच डेढ दशक अघिदेखि चिनजान रहेको र अहिले पारिवारिक सहमतिमा विवाह बन्धनमा बाँधिएको बताए ।

उनले भने, “हामी दुवै जना सामाजिक तथा राजनीतिक क्षेत्रमा डेढ दशक अघिदेखि सँगसँगै थियौँ, अहिले दुवै जनाको मञ्जुरी र पारिवारिक सहमतिमा विवाह गर्ने निधो गर्‍यौँ ।”नवविवाहित जोडीलार्ई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, आार्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले बधाई तथा वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।दुवै तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका थिए ।