देशका केही ठाउँमा आज पानी र हिउँ पर्ने सम्भावना

काठमाडाैं । देशका केही ठाउँमा आज पानी र हिउँ पर्ने सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।महाशाखाका अनुसार आज देशकाे पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । हिमाली भेगका हिउँ पर्ने सम्भावना छ । तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ ।अहिले बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँको मौसम आंशिक बदली भएको छ । अहिले पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको महाशाखाले जनाएकाे छ ।

दिउँसो काठमाडौं उपत्यकाको मौसम सामान्यतया सफा रहनेछ । आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश भेगमा बाक्लो हुस्सु लागेको छ ।आज दिउँसो सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का पानी र हिउँ पर्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । प्रदेश १ को पहाडी भूभागका एक-दुई ठाउँमा पनि पानी पर्ने सम्भावना छ ।आज राति प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।