काम गरेर खान के को लाज!

ताप्लेजुङ, आधुनिक समयमा पेशा वा व्यवसाय सञ्चालन गर्न जात, वर्ण, रंग र सम्प्रदायले महत्व राख्दैन भन्ने कुरा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङका युवा नवीन फेम्सोहाङ लिम्बूले आफ्नै कामबाट पुष्टि गरिदिएका छन्। सैलुन अर्थात् कपाल वा दारी काट्न प्रयोग हुने पेशा सञ्चालक भन्ने बित्तिकै हाम्रो दिमागमा तराइ मुलका निश्चित समुदायका मानिसको चित्र आउँछ। तर नवीनले भने खोक्लिङबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङ आएर सैलुन खोलेका छन्। कपाल र दारी काट्ने कार्य अहिले उनको पेशा भएको छ।

‘हातमा सीप छ, काम गर्ने जाँगर छ, शरीरमा उर्जा छ, काम गरेर खान के को लाज?’ उनी अहिले कसैले फरक व्यवसाय सञ्चालन गरेकोप्रति प्रश्न गरेमा आफैं प्रतिप्रश्न गरिदिन्छन्। कपाल वा दारी काट्न उनले कहिँ कतै तालिम वा प्रशिक्षण लिएनन्। ‘ सानै उमेरदेखि कपाल–दारी काट्ने काममा घरदेखि गाउँसम्मका मानिसलाई सहयोग गरिन्थ्यो’उनले भने ‘यहिँ क्रममा सिकें, बुझें र पेशा नै सुरु गरें।’ फुङ्लिङ नगरपालिकाको बीरेन्द्रचौक भन्दा अलि अगाडि अदालत जाने बाटोतर्फको नेकपा पार्टी कार्यालय छेउमा उनले सैलुन केन्द्र खोलेका छन्। ‘व्यवसाय भने पनि पेशा भने पनि यहिँ हो’उनले भने।

अहिले उनको सैलुन केन्द्रले राम्रै कमाइ गरिरहेको छ। सुरुआतको कमाइ भए पनि आफू सन्तुष्ट हुने खालकै रहेको उनले बताए। व्यवसाय सञ्चालन गर्नु भनेको आफ्नो हातमा भएको सीपलाई उपयोग गरेर आफैं आत्मनिर्भर बन्नु हो। त्यहिँ भएर नवीनलाई नाम जस्तै काम गर्न मन लाग्यो। उनले आफूसँग भएको सीपलाई पेशा बनाए। यहिँ पेशा अहिले उनको कमाइ खाने माध्यम बनेको छ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा करिव दर्जन हाराहारीमा सैलुन सञ्चालक छन्। उनीहरु सबै तराइ मूलका हुन्। पहाडी मूलका सैलुन सञ्चालक भने फुङ्लिङ भित्रमा नवीन एक्ला हुन्।

गरिखानलाई धक वा त्रास मान्नु नपर्ने नवीनको बुझाइ छ। उनी थप्छन्, ‘सीप हुनेले त्यसलाई बिकाएर आर्थिक उपार्जन गर्ने हो भने मात्रै प्रत्येक व्यक्ति आत्मनिर्भर बन्दै जाने अभियानको सुरुआत हुने छ।’ उनले सीपको उपयोगबाट आत्मनिर्भर बन्दै जाने हो भने बैदेशिक रोजगारीमा जानेको संख्या पनि क्रमशःघट्दै जाने बताए। तर सीप प्रबद्र्धनका लागि अझै उनलाई सम्बन्धित निकायबाट सहयोग र ढाडसको आवश्यकता भने छ। नागरिक