बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

काठमाडौं । संवैधानिक परिषदको बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।संवैधानिक परिषदको बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् ।परिषदमा हाल बहाल रहेका अन्य सदस्य सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित छन् ।सरकारले मंगलबार नै ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

र ३ जना सहमत भएमा निर्णय पनि गर्न सक्नेछ ।विभिन्न संवैधानिक निकायमा गरी रिक्त ४५ सदस्य नियुक्तिका लागि परिषद बैठक बसेको हो । पुरानो व्यवस्थाअनुसार बोलाइएको संवैधानिक परिषद्‍को बैठक नयाँ अध्यादेशको व्यवस्थाअनुसार बसेको हो ।संवैधानिक परिषद्‍को बैठकलाई नै दृष्टिगत गरी नयाँ अध्यादेश ल्याइएको थियो। मन्त्रिपरिषद्‍को सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी थिइन् ।

यसअघि परिषद्को बैठकमा प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेता गरी ६ जना सहभागी हुने व्यवस्था थियो। जसमा ५ सदस्य उपस्थित भएपछि मात्रै आफ्नो अनुकूल निर्णय गर्न पाउने व्यवस्था थियो। तर त्यस व्यवस्थालाई उल्टाउँदै ओलीले तीन सदस्य उपस्थित भए मात्रैपनि नियुक्त गर्न पाउँने व्यवस्था गरेका छन् ।