आरोपपत्र फिर्ताबारे कुनै सहमति भएको छैन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच अध्यादेश र संसद् अधिवेशन बोलाउन माग गरिएको बाहेक कुनै पनि सहमति नभएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । दुईजना अध्यक्षबीच सरकारद्वारा ल्याइएको अध्यादेश फिर्ता गर्ने र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता गर्नेबाहेक कुनै सहमति नभएको सचिवालयले जनाएको छ ।यसअघि प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले बाह्रखरीसँग कुरा गर्दै दुवै अध्यक्षले पेस गरेका आरोपपत्र फिर्ता गर्ने सहमति भएको जानकारी गराएका थिए ।

सोही आधारमा समाचार तयार पारिएको थियो । प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले कुरा गर्दै भनेका थिए,“दुई अध्यक्षबीच सचिवालय हुँदै स्थायी कमिटीमा पुगेका प्रस्ताव फिर्ता गर्ने सहमति भएको छ ।”तर स्थायी कमिटीका सदस्यहरुले भने त्यस्तो सहमति नभएको बताएका छन् । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुरा गर्दै अध्यादेश र संसद् बोलाउने प्रस्तावबाहेक कुनै पनि सहमति नभएको स्पष्ट पारे । त्यसबाहेक सबै विषयमा स्थायी कमिटीको आगामी बैठकमा छलफल हुने उनले जानकारी गराए ।