सिंहदरवारका कर्मचारी पाेशाक भत्ता लिन्छन्, पाेशाक लगाउँदैनन्

१ पुष २०७७, बुधबार काठमाडाैं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ । सतर्कता केन्द्रले बुधबार सिंहदरबारको दक्षिण गेटमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो ।सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले बिहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताउनुभयो । अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताउनुभयो ।

उहाँले सिंहदरबार भित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए नलगाएको जाँच गरिएको बताउनुभयो ।अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको पनि उहाँले बताउनुभयो । पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डिएसपी अधिकारीले बताउनुभयो ।सरकारी कर्मचारीले पोशाक भत्ता बापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डिएसपी अधिकारीले बताउनुभयो । अबदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उहाँले बताउनुभयो ।