राष्ट्रपति विद्यादेवी भण्डारीलाई ८३ सांसदले लेखेको पत्रमा के थियो? (पत्रसहित)

काठमाडौँ । बुधबार संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेकपाकै सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीलाई अनुरोध पत्र लेखेका थिए । ८३ सांसदको हस्ताक्षर लिएर नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल शितल निवास पुगे पनि पत्र दर्ता भने भएन ।८३ जनाको हस्ताक्षरसहितको पत्र लिएर पाउने १ बजे राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा नेता भीम रावल र पम्फा भुसाल समावेदन दर्ता नगरी साँझ ६ बजे नेकपाको बैठक सकिएपछि फर्किएका थिए ।

नेकपा बैठकमा सरकारले अध्यादेश फिर्ता लिने र प्रचण्ड–माधव समूहले समावेदन प्रक्रिया रोक्ने निर्णय भएपछि नेता रावल समावेदन दर्ता नगराई फर्केका हुन् ।जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात संवैधानिक परिषद (काम कर्तर्वय र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गर्नु भई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ,’ पत्रमा भनिएको छ ।

पत्रमा २०७४ को आम निर्वाचनपछि ओलीको नेतृत्वमा बनेको सरकारले देश र जनताका सामु रहेका चुनौतीहरुको सन्दर्भमा कुशलता साथ काम गर्ने अपेक्षा गरिएको तर त्यस्तो हुन नसकेको उल्लेख गरएको छ । यस्तै कोरोना महामारीलगायतका जनजीविकाका विषयमा संसदमा छलफल गर्नुपर्ने आवश्यकता भइरहेका बेला सरकारले हठात अध्यादेश ल्याएको भन्दै ती विषयमाथि छलफल गर्न आवश्यक भएकाले विशेष अधिवेशन बोलाउन माग गरिएको थियो।