निगमले पायाे दुई अन्तर्राष्ट्रिय विमानस्थल ग्राउण्ड ह्याण्डलिंगकाे अनुमति

काठमाडाैं । नेपाल वायुसेवा निगमले दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिंग (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति पाएको छ । निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिंग गर्ने अनुमति पाएको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को १७ मंसिरकाे निर्णयले निगमलाई साे अधिकार दिएको निगमले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।निगमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको भूमिस्थ प्रबन्ध सेवा दिँदै आएको छ ।

निगमले ट्विनअटर विमानबाट मंसिर ३० मा सोलुखुम्बुको थुलुङ्ग दूधकोशी गाउँपालिका-२ स्थित काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको जनाएको छ। राष्ट्रिय ध्वजावाहक निगमले सेवाग्राहीको अपेक्षा र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न गुणस्तरीय सेवासहितको व्यावसायिक सुनिश्चितता एवं प्रवर्द्धनका लागि १० वर्षे व्यावसायिक कार्ययोजना तयार पारेको निगमका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिनुभयाे ।निगमले साे व्यावसायिक कार्ययोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष मंसिर २९ गते बुझाएको थियो ।

निगम सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरे तथा महाप्रबन्धक डिम प्रकाश पौडेलको नेतृत्वमा बुझाइएको सो व्यावसायिक योजना ग्रहण गर्नुभएकाे छ । व्यावसायिक योजना ग्रहण गर्दा मन्त्री भट्टराईले निगमको एउटा रोडम्याप तयार भएको र सरकारले यो योजनालाई सफल बनाउन आवश्यक सम्पूर्ण सहयोग गर्ने बताउनुभएको समेत विज्ञप्तिमा लेखिएको छ ।