रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

रासस, दुई भाइ र छोरा अमेरिका, बुहारी जापान। घरमा प्रशस्त पुर्ख्यौली सम्पत्ति। घरमा चार जनाको सानो परिवार। म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धुर्व थापालाई नपुग्दो केही छैन। बागलुङ बजारमा घर र बगरफाँटको जग्गा अरूले नै प्रयोग गरिरहेका छन्। अमेरिका र जापानमा रहेका भाइ, छोरो र बुहारीबाट मासिक १२ लाख रूपैयाँ भन्दा बढी थापाको हातमा पर्छ तर, थापालाई भाइ र छोरा बुहारीले विदेशमा कमाएर पठाएको १२ लाखले फुर्मासी र घमण्डी बनाएन।

बरू उनीहरूले विदेशमा दुःख गरेर पठाएको पैसा बचत गरिदिने र घरखर्चलगायत आफ्नो व्यावहारिक जीवन चलाउन आफ्नै माटोमा पौरख गर्ने जाँगर सिकायो। त्योभन्दा पनि बढी थापाकै देखासिकीमा गाउँका युवाले सानालेखमा तरकारी फलाऊँ अभियान चलाएर आफैँ स्वावलम्बी बनेर गाउँको मुहार नै फेर्न सफल भए। थापाले दुई वर्षअघि रहरैरहरले सुरू गरेको बेमौसमी तरकारी खेतीले अहिले उनलाई व्यावसायिक मात्रै बनाएन सरल स्वभावका पौरखी ‘अर्गानिक’ कृषकको परिचय पनि दियो। थापाले सानालेखको आफ्नो घर नजिकै रहेको सात रोपनी बारीमा विभिन्न थरिका बेमौसमी तरकारी खेती गर्नुभएको छ।

अठार वर्ष विदेशमा बसेर आफैँ पनि प्रशस्त पैसा कमाएका थापाले दुई वर्षअघि रहरैरहरमा गरेको तरकारी खेतीबाट अहिले वार्षिक तीन लाखभन्दा बढी कमाइ गर्दै आएका छन्। उनको बारीमा अहिले काउली, बन्दा, खुर्सानी, धनियाँ, गोलभेँडा, रायो सागलगायतका बेमौसमी तरकारी लटरम्मै फलेका छन्। ‘मैले दुई वर्षअघि तीन रोपनी जग्गामा बेमौसमी तरकारी खेती शुरु गरेको हुँ’, थापाले भने, ‘अरूको देखेर रहरैरहरले सुरू गरेको तरकारी खेतीले अहिले मलाई व्यावसायिक बनायो, आम्दानी पनि राम्रै हुन थालेको छ।’

थापालाई अहिले तरकारी खेतीबाट भएको आम्दानीमा नै रस बस्न थालेको छ। थापाकै देखासिकी गरेर गाउँका १० युवाले पनि व्यावसायिक तरकारी खेतीको सुरूवात गरेका छन्। थापालाई यसैमा आत्मसन्तुष्टि मिलेको छ। थापा भन्छन्, ‘मैले गरेको बेमौसमी तरकारी खेती देखेर गाउँका अरू भाइहरूले पनि सुरू गरेका छन्। उनीहरूले पनि राम्रो कमाइ गरिरहेका छन्। मलाई सबैभन्दा धेरै खुशी यसैमा लागेको छ।’ दुई वर्ष अघिसम्म करेला, स्कुस, सिमीलगायतका परम्परागत रैथाने तरकारीबाहेक अरु तरकारी खान मनलागे बजारबाट किनेर ल्याउनुपर्ने बाध्यतामा रहेका सानालेखवासीका बारीमा अहिले विभिन्न किसिमका बेमौसमी तरकारी लटरम्मै झुलेका छन्।

स्थानीय हरिप्रसाद शर्मा भन्छन्, ‘अहिले त गाउँको रौनक नै फेरिएको छ, रहरैरहरमा धु्रवजीले गरेको तरकारी खेतीले गाउँलेलाई गर्न जानेपछि हुँदो रैछ त भन्ने बनाएको छ। अहिले हाम्रो गाउँ बेमौसमी तरकारी खेतीको ‘हब’ नै बनेको छ।’ सानालेखका हरि शर्मा, महेन्द्र थापा, नारायण शर्मालगायतका १० युवाले अहिले व्यावसायिक तरकारी खेती सुरू गरेका छन्। उनीहरूले तरकारी बेचेर एक सिजनमा दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।