बालुवाटारमा ओलीनिकट सांसदको बैठक सुरु, प्रचण्ड-नेपाल पक्षको भेला…

काठमाडौं, प्रतिनिधिसभा विघटनपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्ष आआफ्ना रणनीतिमा तयारीमा जुटेका छन्। यसै क्रममा अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदको बैठक राखेका छन्। ‘बैठक ९ बजे बिहान भनिएको थियो, तर भर्खर सुरु भएको छ,’ सोमबार बिहान सवा १० बजेतिर बालुवाटार स्रोतले भन्यो। “सबै उपलब्ध सांसदहरूलाई बालुवाटार आउन भनिएको थियो । धेरै त जिल्ला-जिल्लामा हुनुहुन्छ । कति बिरामी पर्नुभएको छ।”

उनले भने, ‘‘काठमाडौंमा भएका निवर्तमान सांसदहरु आइपुग्नुभएको छ । छलफल भरखरै सुरु भएको छ ।’’यसैबीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पनि आजै दिउँसो १ बजे आफूनिकट सांसदको भेला गर्दैछ ।स्रोतका अनुसार सोमबार दिउँसो १ बजे संसद् भवनमै बैठक हुनेछ। यस्तै त्यहीं दिउँसो ३ बजे नेकपाको स्थायी कमिटीको बैठक पनि राखिने नेकपाका एक नेताले जानकारी दिए।