बालुवाटारमा बैठक, ओलीमाथि कारवाही गर्नुअघि नै नयाँ दल खोल्ने विषयमा छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको भेला सुरु भएको छ । काठमाडौंमा उपलब्ध सबै सांसदलाई सोमवार बिहान ९ बजे बालुवाटार बोलाइएको थियो ।भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसदको उपस्थिति छ । पूर्वमाओवादीबाट लेखराज भट्ट सहभागी हुनुभएको छ । गृहमन्त्री राम बहादुर थापा (बादल) भने अहिलेसम्म उपस्थित हुनु भएकाे छैन ।आफूमाथि कारवाही गर्नुअघि नै नयाँ दल खोल्ने या पहिल्यै दर्ता भएको एमाले पुनर्गठन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । त्यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ ।उता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर सांसदहरू भने बानेश्वरमा भेला भेला हुँदै छन् । आइतबार प्रधानमन्त्री ओलीले संसद् भंग गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै भेला र बैठकमा व्यस्त भएका हुन् ।