पुल्चोकमा बादलको छुट्टै भेला, मन्त्रीबाट राजीनामा दिन दबाब

काठमाडौं । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुको छुट्टै भेला गरेका छन् । पुलचोकस्थित सरकारी निवासमा उनले आफू पूर्वमाओवादीमा हुँदाका निकटस्थहरुको भेला गरेका हुन् । भेलामा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव गुरुङसहितका नेता सहभागी रहेको स्रोतले जानकारी दियो । बादलले आफूसँग ३५ जना केन्द्रीय समितिका सदस्यहरु रहेको दाबी गर्दै आएका छन् ।त्यस्तै ६ जना सांसद पनि आफ्नो गुटमा रहेको बादलको दाबी छ ।

बादलमाथि हिजो बेलुकादेखिनै मन्त्रीबाट राजीनामा दिन उनी निकट नेताहरुले दबाब बढाएका छन् ।संसद भंग गर्ने सरकरको सिफारिस र राष्ट्रपतिको स्वीकृतिप्रति असहमति जनाउँदै आइतबार नै सात मन्त्रीले राजीनामा दिँदा नै बादललाई राजीनामा गर्नुपर्छ भनी उनको समूहका नेताहरुले दबाब दिए पनि मानेका थिएनन् । आज बिहान बालुवाटारमा आयोजित प्रधानमन्त्रीपक्षीय सांसदहरुको भेलामा उनी गएनन् ।अहिले पुल्चोकमा बादललाई राजीनामा गराएर कित्ता प्रष्ट पार्न दबाब दिइँदै छ । तर, राजीनामा दिने, नदिनेबारे कुनै टुंगो लागेको छैन ।