गृहमन्त्री थापालाई भेट्न प्रचण्ड पुल्चोकमा

काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका छन्। सोमबार मध्यान्ह अध्यक्ष प्रचण्ड पार्टी सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेको स्रोतले बतायो। ‘अध्यक्ष प्रचण्ड गृहमन्त्री थापासँग छलफलका लागि मन्त्रीनिवास आइपुग्नुभएको छ’, स्रोतले भन्यो। सोमबार बिहान गृहमन्त्री थापा प्रधानमनत्री ओलीले बोलाएको भेलामा नगई आफूपक्षीय नेताहरुसँग मन्त्रीनिवासमै छलफल गरेका थिए। त्यसको केहीबेरमा नै अध्यक्ष प्रचण्ड पुल्चोक पुगेको र अहिले दुई नेताबीच छलफल भइरहेको स्रोतले बतायो।

उता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कानुनविदसँग परामर्श थालेका छन्। स्रोतका अनुसार प्रतिनिधिसभा विघटन र आगामी दिनमा कसरी अघि बढ्नेबारे रणनीति बनाउन उनले अग्रसरता लिएका हुन्। कानुनविद्सँग केहीबेर अघिदेखि नेता नेपालले सिंहदरबारभित्रै परामर्श गरिरहेका छन्। स्रोतले भन्यो, ‘हिजोको परिस्थिति, प्रतिनिधिसभा पुनस्र्थापनालगायत आगामी दिनमा रणनीति बनाउन उहाँ छलफलमा हुनुहुन्छ।’