बीच बाटोमै मोटरसाइकलको क्लच बिग्रियो, अब के गर्ने ?

काठमाडौं, मोटरसाइकलको यात्रामा हुनुहुन्छ र बीच बाटोमै क्लच बिग्रियो भने के गर्ने ? मोटरसाइकल चलाउनेमध्ये धेरैले यो समस्या भोग्नुभएको होला भने कतिपयलाई यस्तो समस्याबारे कल्पना गरेर चिन्ता लाग्छ होला !क्लच बिग्रियो भने धेरै जनाले धकेलेरै नजिकको वर्कशपसम्म लैजाने गर्नुहुन्छ होला । तर, धकेलेर वर्कशपसम्म लैजाँदा पनि चालकले धेरै हैरानी भने खेप्नुपर्ने हुन्छ ।धेरैलाई यो थाहा नहुन पनि सक्छ कि क्लच बिना पनि बाइक चलाउन सकिन्छ भनेर । यो आलेखमा मोटरसाइकल चालकलाई क्लच प्लेट बिग्रियो भने कसरी मोटरसाइकललाई चलाएरै वर्कशपसम्म लैजान सकिन्छ भनेर केही टिप्सहरु उल्लेख गरिएका छन्, जसले केही फाइदा पुग्न सक्छ ।

यात्रा गर्दागर्दै बाइकको क्लच बिग्रिएको भने स्टार्ट बन्द हुन सक्छ । बन्द भएन भने पनि आफैं स्टार्ट बन्द गर्नुहोस् । बाइकलाई सडकको बायाँ किनारा (पहेँलो घेराभन्दा बाहिर) लग्नुहोस् । बाइकलाई न्यूटलमा राख्नुहोस् । अब बाइकमा राम्रोसँग बसेर बाइकको ह्यान्डललाई बलियो गरी समाउनुहोस् र स्टार्ट गर्नुहोस् । स्टार्ट गरिसकेपछि ध्यानपूर्वक एक गियरमा राख्नुहोस् । बाइकको क्लच बिग्रिएको छ भन्ने याद राख्नुहोस् । बाइकलाई खुल्ला स्थानमा यसकारण राख्नुस् कि बिना क्लच बाइकमा गियरमा राख्दा अगाडि हुत्तिन सक्ने खतरा हुन्छ ।

जब बाइकको क्लचले काम गर्दैन, त्यतिबेला एक्सीलेटरमा निकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । बिना क्लच बाइकलाई गियरमा राख्दा स्टार्ट बन्द हुने सम्भावना धेरै हुन्छ । गियरमा राख्दा बाइक बन्द नहोस् भन्नका लागि गियरमा हाल्दा एकैसाथ एक्सलेरेटर पनि विस्तारै बढाउनु पर्छ । नत्र भने बाइकको स्टार्ट बन्द हुन सक्छ ।क्लच बिग्रिँदा पनि बाइकलाई १ वा २ गियरमा सजिलै गुडाउन सकिन्छ । तर, अगाडि–पछाडि खुला ठाउँ छ, सवारीको चाप छैन भने मात्रै गियर चेञ्ज गर्नुहोस् । बाइकलाई २५ देखि ३० को गतिभन्दा माथि नचलाउनुहोस् ताकि रोक्नुपर्ने अवस्थामा स्पीड कन्ट्रोलमा राख्न सकियोस् ।

सडकमा भीडभाड र धेरै ट्राफिक चाप छ भने बाइक नचलाउनुहोस् । किन भने भीडभाड र ट्राफिक धेरै भएको अवस्थामा गियर चेञ्ज धेरै गर्नुपर्ने हुन्छ । क्लच बिग्रिएको अवस्थामा गियर चेञ्ज गर्न जोखिमपूर्ण हुन्छ ।माथि उल्लेख गरिएका केही टिप्सलाई अपनाउँदा क्लच बिग्रिएको अवस्थामा पनि तपाईंले नजिक रहेको वर्कशपसम्म गुडाएरै वाइकलाई पुर्‍याउन सक्नुहुन्छ । याद राख्नुहोस्, सडकमा जहिले पनि ट्राफिक नियमको पालना गर्नुहोस् ।