आगामी शुक्रबारबाट नेपालभरका हल सञ्चालनमा आउँदै, यी हुन् चल्न लागेका २ फिल्म

काठमाडौं । आगामी शुक्रबारबाट नेपालभरका हल सञ्चालनमा आउँदैछन् । यतिबेला हल व्यवसायीहरू कसरी चलचित्र प्रदर्शन गर्ने, हलसम्म दर्शक कसरी तान्ने र नयाँ चलचित्र प्रदर्शनका लागि निर्मातालाई कसरी मनाउने लगायत विभिन्न विषयमा हल व्यवसायी छलफलमा जुटेका छन् ।अहिलेसम्म सरकारका तर्फबाट हल खोल्ने विषयमा कुनै टुंगो लागेको छैन । सोही कारण चलचित्र संघले एकतर्फी रूपमा हल खोल्ने निर्णय गरिसकेको छ ।चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार, शुक्रबारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउन थालिएको छ ।

यी दुवैै चलचित्र लकडाउन शुरू हुन लागेका बेला हलमा प्रदर्शन भइरहेका थिए ।समीक्षात्मक रुपमा आमाले राम्रो प्रशंसा पाए पनि यी दुवै चलचित्रले सोचेजस्तो आम्दानी भने गर्न सकेका थिएनन् । संघका अध्यक्ष प्रधानले आमा र सेन्टी भाइरस चलाउने विषयमा आफूहरूले तयारी गरेपनि पूर्ण फाइनल भने भइनसकेको प्रतिक्रिया दिए ।कतिपयले चलचित्र प्रेम गीत ३, म यस्तो गीत गाउँछु २ लगायतका केही ठूला मूभी प्रदर्शन गर्नुपर्छ समेत भनेका छन् । तर, यी चलचित्रका निर्माताले भने लगानी उठ्ने सम्भावना नभएसम्म हलमा चलचित्र लगाउँछन् भन्ने कुरामा विश्वस्त हुन सकिन्न ।

नेपालमा ९ महिनादेखि चलचित्र हल पूर्ण रूपमा बन्द छन्, जसले करोडौं रकम हल व्यवसायीले घाटा बेहोर्नुपरेको छ ।त्यसो त हलमा अहिल्यै दर्शक खचाखच भरिन्छन् भन्ने विषयमा चलचित्र निर्माता, हल व्यवसायी, वितरक तथा कलाकार कोही पनि विश्वस्त छैनन् ।तथापि हल व्यवसायीले चलचित्र उद्योगलाई चलायमान बनाउनका लागि यो निर्णय अत्यावश्यक भएको बताएका छन् ।