अमेरिकाका लागि राजदूत नियुक्त भएका पूर्वअर्थमन्त्री युवराज खतिवडाले लिए सपथ

काठमाडौं : अमेरिकाका लागि राजदूत नियुक्त भएका पूर्वअर्थमन्त्री युवराज खतिवडाले सपथ लिएका छन् ।बिहीबार दिउँसो राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि राजदूत नियुक्त भएका खतिवडालाई सथप गराएकी हुन् ।राष्ट्रपति भण्डारीले मंगलबार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन् ।नेपालको संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो ।

यसअघि सरकारले पूर्वअर्थमन्त्री खतिवडालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री केपी ओलीले उनलाई अर्थमन्त्रीमा निरन्तरता दिएका थिए । ६ महिना त्यसरी मन्त्री बनेर आर्थिक वर्ष २०७७/ ०७८ को बजेट ल्याएका खतिवडाले भदौ २० मा अर्थमन्त्रीबाट राजीनामा गरेका थिए ।