काठमाडौं–तराई/मधेश द्रुतमार्ग : साढे ३ वर्षमा निर्माण गरिसक्ने सेनाको घोषणा

काठमाडौं । ७२ दशमलव ५ किलोमीटर लामो काठमाडौं–तराई/मधेश द्रुतमार्ग’ साढे ३ वर्षसम्ममा सम्पन्न गरिने नेपाली सेनाले घोषणा गरेको छ । बहुप्रतीक्षित द्रुतमार्ग आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र प्रस्थानविन्दु खोकनाको रेखांकनमा देखिएको समस्या समाधान गर्न समय लागेपछि समयावधि पनि थप भई २०७९ को मध्यसम्म पुगेको हो । सेनाले बुधवार आयोजित पत्रकार सम्मेलनमा नयाँ डीपीआरबारे जानकारी दिँदै उक्त अवधिमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने दाबी गरेको हो ।

सरकारले २०७४ साउनमा आयोजना सेनालाई हस्तान्तरण गर्दै ४ वर्षभित्र अर्थात् २०७८ साउनसम्ममा सम्पन्न गर्न निर्देशन दिएको थियो । उक्त सडक आयोजनाका प्रमुख तथा प्राविधिकतर्फका सहायक रथी शरदलाल श्रेष्ठले मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक रू. १ खर्ब ५५ अर्बमा द्रूतमार्ग बन्ने जानकारी दिए । अघिल्लो डीपीआरको प्रारम्भिक लागतभन्दा नयाँ डीपीआरमा आयोजनाको लागत बढेको छ । पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘पहिला एउटा मात्रै सुरुङमार्ग, मुआब्जा दिनु नपर्ने स्थिति र बीमाको पक्षलाई नसमेट्दा लागत कम थियो ।’

नयाँ डीपीआरमा पुल, दुई थप सुरुङमार्ग र मुआब्जा दिनुपर्ने स्थितिका साथै मूल्यवृद्धिका कारण पनि आयोजनाको लागत बढेको हो ।सेनाका एक अधिकारीका अनुसार द्रुतमार्गसँगसँगै त्यही मार्गको छेउछेउ भएर पेट्रोलियम पाइप लाइन, अप्टिकल फाइबर, खाने पानी, विद्युत् प्रसारण लाइनजस्ता पूर्वाधारहरू ल्याउने योजना बनाइएको छ । नेपाल आयल निगम, नेपाल टेलिकमका अधिकारीले भने प्राविधिक र आर्थिक रूपमा सम्भव भएसम्म त्यही द्रुतमार्ग प्रयोग गर्दै यस्ता संरचना निर्माणका लागि प्रारम्भिक छलफल भइ रहेको अभियानलाई बताए ।

डीपीआरले प्रारम्भिक लागत रू. १ खर्ब ५५ अर्ब तोकेको भए पनि निर्माणको क्रममा आवश्यक लागत बढ्न सक्ने सेनाले बताएको छ । डीपीआर स्वीकृत भइसकेपछि सेनाले पहिलो चरणमा उक्त आयोजनामा टेवा पर्खाल लगायत सामान्य काम गर्ने र दोस्रो चरणमा सडक कालोपत्र, १६ ओटा विशेष पुल र ३ ओटा सुरुङमार्ग निर्माण गरिने श्रेष्ठले बताए ।सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले डीपीआरमा सबै संरचना समेटेको बताए । रक्षा मन्त्रालयका उपसचिव मनोज आचार्यले अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेकाले आयोजनाको काम तोकिएकै समयमै सम्पन्न हुने दाबी गरे ।

चार लेनको हुने द्रुततमार्गमा एशियाली विकास बैंक (एडीबी)ले पहिला गरेको अध्ययन अनुसार एउटा मात्रै सुरुङमार्ग र जग्गाको मुआब्जा, बीमाका विषयहरू नसमेट्दा आयोजनाको लागत रू. १ खर्ब १२ अर्ब थियो । यस्तै उक्त डीपीआर बनाउनका लागि सेनाले रू. ७ करोड ४५ लाख खर्च गरेको छ । डीपीआर कोरियन परामर्शदाता सुसुङ इन्जिनीयरिङ एन्ड कन्सल्टेन्सीले बनाएको थियो । द्रुतमार्गको प्रस्थान विन्दु खोकना नै हुने भए पनि नयाँ डीपीआरले त्यहाँ भएको सांस्कृतिक तथा ऐतिहासिक सम्पदा जोगाउँदै त्यसैको दक्षिणपट्टि १५० मीटरबाट यसको प्रस्थान विन्दु बनाउने भएको छ ।

यस्तै सुरुङमार्ग बन्ने लेनडाँडामा पनि केही रेखांकन परिवर्तन गरिएको सेनाले बताएको छ । यसैगरी उक्त द्रुतमार्गमा प्रवेश गर्न तीनओटा टोल प्लाजा (खोकना, बुदुने र निजगढ) तोकिएको छ । यस्तै अन्य संरचनाहरूमा प्यासेन्जर अन्डरपास १२, भेहिकल अन्डर पास ५, प्यासेन्जर ओभर पास १, भेहिकल ओभर पास ४ र बक्स/पाइप कल्भर्टस् १४१ ओटा निर्माण हुनेछन् । उक्त दूरी पार गर्न १ घण्टा २ मिनेट लाग्ने उक्त द्रुतमार्गमा ११ ओटा बेलिब्रिज बन्ने भएका छन् ।