एयर चाइनाको जहाज चार्टर्ड गरेर काठमाडौं आइपुग्यो चिनियाँ टोली

काठमाडौं । नेपालमा राजनीतिक संकट गहिरिदै गएको समयमा उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ ।एयर चाइनाको जहाज चार्टर्ड गरेर आइतबार (आज) चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आइपुगेको हो ।उक्त टोली चीनको सिचुवा प्रान्तको राजधानी छेन्दुबाट जहाज चार्टर्ड गरेर काठमाडौं आएको बताइएको छ । काठमाडौं आर्लिएसँगै चिनिया कम्युनिष्ट पार्टीको उक्त टोली काठमाडौंस्थित चिनिया दूतावास गएको बताइएको छ ।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा उत्पन्न भएको परिस्थितिबारे बुझ्न सो टोली काठमाडौं आएको बुझिएको छ ।उक्त टोली नेपालमा ४ दिन रहने र नेपाल बसाईको क्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।