रौतहटमा एउटै नम्बरको दुई वटा गाडीको भेट !

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा एउटै नम्बर प्लेटको २ वटा गाडी भेटिएको छ । जिल्लाको चन्द्रनिगाहपुर चोकमा कुमारी बैंक अगाडि रोकिराखेको अवस्थामा बा१७च ९३६५ नम्बरको स्कोरपियो गाडी फेला परेको हो ।दुई वटा गाडीमध्ये एउटा सेतो रंगको र अर्को सिल्भर रंगको रहेको छ । एउटै नम्बरको दुई वटा गाडी देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीले जानकारी दिए ।

सो मध्ये सिल्भर रंगको गाडीको विलबुक तथा कागजात साथमा रहेको तर सेतो रंगकोे गाडीको केहीपनि कागजात फेला नपरेको र चालक पनि फरार रहेको प्रहरी उपरीक्षक शाहीले बताए ।सेतो गाडी लक रहेको अवस्थामा प्रहरीले गाडी मिस्त्रीको सहायताले लक खोलेर इलाका प्रहरी कार्यालयमा ल्याएको थियो । सिल्भर रंगको गाडी सर्लाहीको बागमतीमा रहेको टि–गार्डेन रिर्सोटको नाममा रहेको रिसोर्टका कर्मचारी रोशन लामाले बताए ।आफूहरुले काम विशेषले सो गाडी लिएर चन्द्रनिगाहपुरमा आउँदा आफ्नो गाडीको नम्बर प्लेटकै अर्को गाडी पनि फेला परेको लामाले बताए ।

अर्को गाडीको बारेमा थप अनुसन्धान भइरहेको र सो गाडी भारतबाट चोरी गरेर ल्याएर नेपाली नम्बर प्लेट हालेर चलाइरहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।रौतहटका विभिन्न स्थानहरुमा भारतबाट चोरीको गाडी ल्याएर नेपाली नम्बर प्लेट राखेर चढ्ने गरेको पाइएकोले प्रहरीले चेकिङ्गमा जोड दिनुपर्ने स्थानीयहरुको भनाइ छ ।