एक अर्बको लागतमा काठमाडौँँमा ठूला पूर्वाधार विकास हुने

काठमाडौँ । चालू आर्थिक वर्षमा काठमाडौँका ११ वटा स्थानीय तहमा गरी ५१६ वटा भौतिक पूर्वाधारका योजना निर्माण हुने भएका छन् । सङ्घअन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट २३७ र प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यक्रमबाट २७९ वटा गरी ५१६ वटा पूर्वाधार कार्यक्रम कार्यान्वयन हुन लागेका हुन् । ती पूर्वाधार निर्माणका लागि काठमाडौँका १० वटा र प्रदेशका २० वटा निर्वाचन क्षेत्रबाट योजना छनोट भई धमाधम कार्यान्वयनको चरणमा छन् ।याे खबर गाेरखापत्र दैनिकमा छ ।

सबै योजना पूर्ण रूपमा कार्यान्वयन भइसक्दा काठमाडौँँमा ठूला पूर्वाधार निर्माण हुने अपेक्षा गरिएको छ । चालूू आर्थिक वर्षमा काठमाडौँमा सङ्घअन्तर्गत १० वटा निर्वाचन क्षेत्रमा गरी ४० करोड र बागमती प्रदेशअन्तर्गत काठमाडौँँका २० वटा निर्वाचन क्षेत्रमा ६० करोड रुपियाँ गरी एक अर्ब रुपियाँको लागतमा भौतिक पूर्वाधारको काम हुने काठमाडौँको जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले जानकारी दिनुभयो ।सरकारले सङ्घीय सांसदलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम गर्न चालूू आर्थिक वर्षका लागि प्रतिसांसद चार करोड रुपियाँ र प्रदेशको पूर्वाधार कार्यक्रमका लागि प्रतिसांसद तीन करोड रुपियाँ प्रदान गरेको छ ।