कर्मचारीलाई पर्यटनमन्‍त्रीको ब्रिफिङ- राम्रा कामलाई निरन्तरता दिनूस्

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गरेका छन् ।मन्त्रालयमा मंगलबार नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा मन्त्री ढकालले नयाँ मन्त्रीलाई केही थाहा छैन र हामीले भनेको मान्छ भन्ने आधारमा सही कुरालाई बेठीक ढंगले सल्लाह नदिन आग्रह गरेका हुन् । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न नडराउनसमेत आग्रह गरे । यस्तै मन्त्रीले गर्ने काम र निर्णयहरु कर्मचारीले दिने सुझावमा भरपर्ने भएकाले पनि राम्रो नतिजा निकाल्न ठीक सुझाव मात्रै दिन आग्रह गरेका हुन् ।

मन्त्री ढकालले यसअघि भएका सबै राम्रा कामलाई निरन्तरता दिनेसमेत बताए । तर समय परिस्थितिअनुसार बदलिएका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने पनि मन्त्री ढकालले बताए । यस्तै व्यक्तिगत हितका लागि भन्दा पनि संस्थाको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्नसमेत आग्रह गरिन् ।परिवर्तित राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभा नभएको अवस्थामा नयाँ कानुन निर्माण गर्न नसकिने भएकाले कानुनी सुधारभन्दा पनि अन्य विषयमा केन्द्रित भएर काम गर्न पनि मन्त्री ढकालले आग्रह गरे ।

केही गठन आदेशबाट हुन सक्ने काम गर्न सकिने तर ऐन नियम निर्माण गर्न प्रतिनिधिसभा नभएको अवस्थामा कानुन निर्माणका आधार मात्रै तयार गर्न सकिने पनि बताए । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा हालसम्म लागु भएका कार्यक्रम र आगामी रणनीतिबारे ब्रिफिङ गरेका थिए ।