प्रचण्डलाई जनतामाथि विश्वास छैन : शहरी विकासमन्त्री साह

काठमाडौं । शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताउनु भएको छ । महोत्तरीको जलेश्वरमा आज आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण संसद् विघटन गराउने अवस्था पैदा गरेको आरोप लगाउनु भयो ।उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनमार्फत पार्टीको अध्यक्ष तथा जनतामार्फत नै देशको प्रधानमन्त्री चुन्न पटक–पटक आग्रह गर्दा नमानेकाले संसद् विघटन गर्नुपरेको जिकिर गर्नुभयो ।

सोही भेलालाई सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्री ओलीले देशको संविधानमा व्यवस्था भएअनुसार नै संसद् विघटन गर्नुभएको बताउनु भयो । उहाँले देशको संविधान, राष्ट्रियता, जनताको हकअधिकार तथा जनादेशको रक्षाका लागि प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुभएको र उहाँको यस कदमलाई सबैले सकारात्मकरूपमा लिएर सबैलाई चुनावमा जान आग्रह गर्नुभयो ।राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले राष्ट्र र राष्ट्रियताका लागि प्रधानमन्त्री ओली नै देशको सर्वोच्च नेता रहेको बताउनु भयो ।